रूपन्देही, २३ माघ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जनताले डेलिभरी नपाएका कारण सरकारप्रति निराशा बढेको बताउनु भएको छ ।
‘सरकार बन्दा जुन रुपमा उत्साह थियो, सोहीअनुरुप उल्लेखित नतिजा आउन सकेको छैन, जनताले त्यसको डेलिभरी पाउन सकेका छैनन्’, मेची-महाकाली संवाद यात्राका क्रममा मंगलबार पश्चिम नवलपरासी आउनु भएका महामन्त्री थापाले भन्नुभयो, ‘निर्वाचनअघि गरिएको गठबन्धनबाट आमकार्यकर्तामा व्यापक असन्तुष्टि छाएको छ, निर्वाचन हारेका ठाउँमा मात्र नभै निर्वाचन जितेका ठाउँहरुमा समेत चरम असन्तुष्टि रहेको संवाद यात्राका क्रममा पाएको छु ।’
निर्वाचन अगाडि गठबन्धन गर्ने परिपाटी नबदल्ने हो भने पार्टीमा चरम निराशा छाउने भएकाले पार्टीको नीतिमार्फत नै यो बदल्नु जरुरी रहेको नेता थापाको जोड थियो ।
यात्राका क्रममा आयोजना सुरु भएर १०–१२ वर्षसम्म पनि पूर्णता नपाउँदा त्यसले पु¥याएको क्षति, स्वास्थ्य संस्थाहरु नचलेको, कृषि क्षेत्रका समस्या, सहकारी, लघुवित्त र वैदेशिक रोजगारीबाट ठगिएकालगायतका आमनागरिकका समस्या पाइएको महामन्त्री थापाले बताउनुभयो ।
‘जुन उद्देश्यले हुलाकी राजमार्ग निर्माण भएको छ, त्यसले नागरिकको जीवनशैली र कृषि क्षेत्रमा खासै परिवर्तन आउन सकेन’, महामन्त्री थापाले भन्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएपछि संवाद यात्राअन्तर्गतको बाँकी यात्रालाई स्थगित गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्