जनता टाइम्स

२४ माघ २०८०, बुधबार १०:२६

बालेनको अभियानमा मन्त्री बाधक बनेपछि


धरहराको अन्डरग्राउन्ड पार्किङमा चर्कियो विवाद, मेयर बालेनले फर्काए मन्त्रीलाई कठोर जवाफ

काठमाडौं, माघ २४ । धरहराको अन्डरग्राउन्डमा राखिएको निःशुल्क पार्किङका विषयलाई लिएर काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयबीच विवाद चर्किएको छ । यही माघ १४ गतेदेखि काठमाडौं महानगरपालिकाले न्यूरोडमा सवारी साधन पार्किङ निषेध गरी धरहराको निर्माणाधीन पार्किङ भवनमा सर्वसाधारणका लागि निःशुल्क पार्किङस्थल तोकेपछि बिवाद चर्किएको हो ।

धराहराको पहिलो तलामा सर्वसाधारणका लागि खुला गरिएको पार्किङ रोक्न भन्दै सहरी विकास मन्त्रालयले सोमबार महानगरलाई पत्र पठाएको छ । महानगरले गत साता न्युरोडभित्रका धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताललगायत क्षेत्रका कालोपत्रे सडकमा पार्किङ निषेध गरेको थियो ।

न्युरोडका कालोपत्रे सडकमा पार्किङ हटाएको महानगरले पुरानो बसपार्कमा रहेको काठमाडौं टावर र धरहराको अन्डरग्राण्उडमा निःशुल्क पार्किङस्थल तोकेको थियो । तर निर्माणाधीन धरहरामा अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरेसँगै सहरी विकास मन्त्रालयले पार्किङ रोक्न भन्दै काठमाडौं महानगरपालिकालाई पत्र पठाएको छ ।

गत बिहीबार सहरी विकास मन्त्रालयका प्रवक्ता विनु बज्राचार्य कुँवरले हस्ताक्षर गरेको पत्र महानगरलाई पठाउँदै मन्त्रालयले पार्किङ रोक्न निर्देशन दिएको थियो । मन्त्रालयद्वारा प्रकाशित पत्रमा भनिएको छ, ‘निर्माणाधीन धरहराको भूमिगत पार्किङमा काठमाडौं महानगरले मन्त्रालय, विभाग र आयोजना तथा निर्माण कम्पनीसँग कुनै सहकार्य नगरी एकतर्फी ढंगबाट पार्किङ सुविधा उपलब्ध गराएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

पार्किङ सुविधाबाट आयोजनामा क्षति हुनसक्ने तथा संरचना तोडफोड हुने सम्भावना रहेको मन्त्रालयले बताएको छ । पार्किङ गर्ने कार्य तत्काल बन्द गरी आयोजनालाई समयमै सम्पन्न गर्ने कार्यमा सहयोग गरी दिनका लागि मन्त्रालयले महानगरलाई निर्देशनसमेत दिएको छ । यस्तै आशयको पत्र महानगरलाई सोमबार पनि प्राप्त भएको छ ।

सहरी विकास मन्त्रालय भवन निर्माण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निमित्त आयोजना निर्देशक झप्पर सिंह विश्वकर्माद्वारा काटिएको पत्रमा पार्किङ बन्द गर्न निर्देशन दिइएको छ । उक्त पत्रमा भनिएको छ, ‘निर्माण सम्पन्न हुने चरणमा पुगेको अवस्थामा एकाएक यस इकाई वा यस एकाइको तालुक निकायहरूसँग कुनै समन्वय एवं जानकारी नै नगरी त्यहाँबाट एकतर्फी ढंगले एक तला भूमिगत पार्किङ ख्ला गरिनु उचित छैन ।’

यसरी एक्तिर्फ पार्किङ खुला गर्दा आयोजना निर्माणमा असर पुग्ने, पार्किङ एरियामा आवस्यक संरचना निर्माण भइनसकेकाले निस्सासिएर मानविय क्षती हुन सक्ने, सामानहरू टुटफट हुनसक्ने भन्दै महानगरलाई पत्र पठाएको हो । काठमाडौं महानगरले भने मन्त्रालयको नर्देशनलाई ठाडै अस्वीकार गरेको छ ।

मन्त्रालयको दुई–दुईवटा पत्र आएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा आक्रोश पोख्नुभएको छ । उहाँले जुनसुकै अवस्थामा पनि पार्किङ नरोकिने घोषणासहित भन्नुभएको छ, ‘२०७८ वैशाख १९ शनिबारको दिन नै सेतो टावर ‘धरहरा’ उदघाटन भएको थियो । उदघाटन गरेको २ वर्ष ९ महिना पुग्दा पनि बनाएर नसकिएको भन्दै लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?’

मेयर शाहले तोकिएको समयमा निर्माण भई नसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन गर्ने जस्ता प्रवृतिलाई भष्टाचारकै नयाँ राष्ट्रिय नीति बनाउनका लागि आग्रह गर्नुभएको छ । ‘सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौं,’ शाहले भन्नुभएको छ । उहाँले धरहरा एरियामा पार्किङ बन्द नभएको बताउँदै महानगरको पहलमा अहिलेका लागि निःशुल्क सञ्चालन भएको जानकारी दिनुभयो । यसका साथै उहाँले पार्किङ व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनेमा जोड दिनुभएको छ । निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन नदिने महानगरको प्रयास रहेको मेयर शाहको भनाई छ ।

काठमाडौं महानगरले मन्त्रालयले दोहोरो भूमिका खेलेको आरोपसमेत लगाएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर मन्त्रालयसँगको समन्वयमा नै पार्किङ खुला गरिएको भन्दै यस्तो आरोप लगाउनु भएको हो । ‘धरहरा बनाउने म्याद पुसमा नै सकिएको हो । न्युरोड क्षेत्रमा पार्किङ समस्या भइरहेको अवस्थामा मन्त्रालयसँगको समन्वयमा नै धरहरामा स्थान तोकेका हौं। दशैं तिहारको समयमा पनि त्यही स्थानमा नै पार्किङस्थल तोकिएको थियो,’ प्रवक्ता मानन्धरले भन्नुभयो ।

उहाँले मन्त्रालयलाई अहिले अप्ठ्यारो अवस्था भएको र पार्किङस्थल आवश्यक भएकाले अर्को व्यवस्था नभएसम्म पार्किङ खोल्नुपर्छ भन्ने जवाफ पठाएको जानकारी दिनुभयो । मन्त्रालयले भनेझै एकतर्फी रूपमा निर्णण गरेको नभएर मन्त्रालयको समन्वयमा नै पार्किङस्थल तोकेको उहाँको भनाई छ ।