जनता टाइम्स

२६ माघ २०८०, शुक्रबार १६:१४

कार्वाही सिफारिशमा परेका प्रहरीलाई डिआइजीले गरे पुरस्कृत


काठमाडौं, माघ २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले अध्यागमन अधिकृतमाथि कुटपिट गर्ने प्रहरीलाई पुरस्कृत गर्नुभएको छ ।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिले दोषी ठहर गरी कार्वाहीको सिफारिश गरेका प्रहरीलाई डिआइजी चन्दले पुरस्कृत गर्नुभएको हो । डिआइजी चन्दले विमानस्थलमा खटिएका प्रहरी नायब निरीक्षक (सई) प्रकाश चौधरी, प्रहरी सहायक निरीक्षक (असई) सन्जय तामाङ र प्रहरी जवान रविजंग गुप्तालाई नगद पुरस्कारले पुरस्कृत गर्नुभएको हो ।

डिआइजी चन्दले चौधरीलाई १२ सय, तामाङलाई ११ सय र गुप्तालाई ८ सय रुपैयाँले पुरस्कृत गर्नुभएको छ । डीआईजी चन्दले पुरस्कृत प्रहरीको अभिलेख राष्ट्रिय प्रहरी किताब खानामा हुने गरी पत्रसमेत पठाउनु भएको छ । डिआइजी चन्दले पुरस्कृत गर्नुभएका तीनमध्ये सई चौधरीबाहेक दुवै जना अध्यागमन अधिकृतमाथि कुटपिट गरेको अभियोगमा कार्वाही सिफारिशमा परेका प्रहरी कर्मचारी हुन ।

अध्यागमन विभागका शाखा अधिकृतलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद हुँदा हातपात भएको घटनामा छानबिन गर्न गठित गृहको समितिले उनीहरुलाई कार्वाहीको सिफारिश गरेको छ । समितिले असई तामाङ र जवान गुप्ताले कर्मचारीमाथि हातपात गरेको प्रमाणित भएको भन्दै निलम्बन गर्न सिफारिस गरेको थियो ।

समितिको सो निर्णयप्रति असन्तुष्ट जनाउँदै राजीनामा दिनुभएका डीआईजी चन्दले राजीनामा फिर्ता भएसँगै पुरस्कृत गर्नुभएको हो । चन्दलाई राजीनामा फिर्ता लिन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएपछि फिर्ता लिनुभएको थियो ।

यो घटनाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भन्ने एउटा गर्ने अर्कै भन्ने नीतिलाई उदांगो पारेको छ । आफै समिति गठन गर्ने तर समितिको सिफारिशबिपरित पुरस्कृत गर्दासमेत कानमा तेल हालेर बस्ने गृहमन्त्रीको शैलीले उहाँकै निर्देशनमा डिआइजी चन्दले काम गरेको तथ्य पनि उजागर गरेको छ ।