काठमाडौं, फागुन २ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार बिहीबार अपराह्न ३ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठकको एजेण्डा केन्द्रीय कार्यालयको बैठक तय गर्नेछ ।
महासचिव शंकर पोखरेल नेतृत्वको कार्यालयको बैठकले सचिवालय बैठकको एजेण्डा तय गर्नेछ । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने बताइएको छ । उपमहासचिव गुरुङले फागुन दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
एमालेले सरकारविरूद्ध निर्णायक आन्दोलनको तयारी अघि बढाइरहेको बेला केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको हो । सो बैठकको मिति तय गर्न सचिवालय बैठक बोलाइएको हो ।
एमालेले पछिल्लो समय जिल्ला–जिल्लामा प्रशिक्षण, भेला र संगठन पुनःनिर्माणलाई गति दिइरहेको छ । यस क्रममा एमालेले तल्ला कमिटीलाई आन्दोलनमा रहन निर्देशन दिइसकेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केही समयअघि नै सरकारको कारण मुलुक असफल हुने दिशामा रहेको भन्दै निर्णायक आन्दोलन जरुरी रहेको बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्