सिरहा, फागुन ४ । धनगढीमाई नगरपालिका–११ का गोविन्दबहादुर श्रेष्ठ आँखा देख्नुहुन्न थियो । तर अस्पताल जाने खर्च नभएपछि उहाँले उपचार गराउन पाउनु भएको थिएन । गाउँमै शिविर आएको खबर सुनेपछि उपचार गराउनु भयो । आँखा देख्ने भएपछि उहाँमा खुसीको कुनै सीमा नै रहेन ।
श्रेष्ठ मात्रै होइन, सोही नगरपालिका–२ निवासी दलित समुदायका हुली राम पनि निकै खुसी देखियनु भयो । केही महिना यता उहाँको आँखा दुख्न थालेको थियो । शिविरमा जाँच गराउनु भयो । उहाँको आँखामा मोतिबिन्दु देखियो । त्यही निःशुल्क शल्यक्रिया गरिदिने सुनेपछि उहाँ हर्षित बन्नुभयो ।
नगरपालिकाले तिलगंगा अस्पताल काठमाण्डौंको सहकार्यमा वडा वडामा शिविर सञ्चालन गरेपछि यहाँका ७ हजारभन्दा बढी स्थानीयहरुले निःशुल्क रुपमा आँखा जाँच गराउन पाएका छन । ५३५ जनामा मोतिबिन्दु देखापरेपछि उनीहरुले निःशुल्क रुपमै यही शल्यक्रिया गराएका छन ।
आर्थिक अवस्था कमजोर, अस्पताल आउजाउ गर्ने सहयोगी नपाएर वृद्ध र अशक्त मानिसले उपचार गराउन पाएका थिएनन । ‘जनताको समस्या बुझेर तिलगंगा अस्पतालसँग सहकार्य गरी शिविर सञ्चालन गराएका छौँ,’ धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले भन्नुभयो, ‘नगरबाट विरामी र कुरुवालाई चिया, पाउरोटी र दूध उपलब्ध गराएका छौँ ।’
मेयर महतोका अनुसार तिलगंगा आँखा अस्पताल, मानवीय कल्याणकारी फाउण्डेशन र युएई दुतावास (दुवै एड)ले आग्रहलाई स्वीकार गरी नगरवासीको आँखा उपचार गर्न सहयोग गरेका छन । जस्को नेतृत्व तिलगंगा अस्पतालका डा. कृष्णमोहन श्रेष्ठले गर्नुभएको छ ।
‘मोतिबिन्दुले न्यून दृष्टि र अन्धोपन गराउँछ । यो समस्या तराई क्षेत्रमा बढी देखिन्छ । त्यही देखेर हामी स्रोत खोजी ठाउँठाउँमा जतचेतना जगाउने र शिविर गर्न प्रयोजना बनाएर उपचार गर्ने गरेका छौँ,’ डा. श्रेष्ठले भन्नुभयो, शिविरबाट हजारौँ सर्वसधारण लाभान्वित भएको छ । उनीहरु खुशी देखिएका छन ।’
प्रतिक्रिया दिनुहोस्