काठमाडौं, ११ असार । सामाजिक सञ्जालको दुरुपयोग गरि ठगी धन्दा चलाउने एकजनालाई सुनसरी प्रहरीले भारतको भिमनगरबाट पक्राउ गरेको छ। फेसबुक आइडीमा फेक नाम भिन्दा सुवन राखेर ठगी धन्दा चालाउने सुनसरीको देवानगन्ज गाउँपालिका(१ का कुशेश्वर मेहतालाई भारतबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । मेहताले थाइल्याण्डको SIAm Commercial बैंकको म्यानेजर हुँ भनी एलेन अर्बी शाहीको नाममा यस बैंकमा खाता छ उसको अपुतालीको सम्पत्ति खाने आफन्त कोही नभएकोले तपाईंको जात मिल्ने भएकाले उक्त खातामा रहेको सम्पूर्ण रकम तपाईंको नाममा राखिदिन्छु भनी कुर्मराज शाहीलाई झुठ्ठा विश्वास दिलाइ रकम ठगी गरेको एसपी तिम्सिनाले बताउनुभयो ।
उहाँले शाहीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाको कमान्डरमा खटिएको टोलीले मेहतालाई भारतको भिमनगरबाट पक्राउ गरेको बताउनुभयो । मेहताले विभिन्न मितिमा शाहबाट ६२ लाख ७५ हजार २ सय रुपैयाँ रकम ठगि गरेको उजुरीकर्ता शाहीले बताउनुभएको छ। उक्त रकम ठगी गरेपछि मेहता भारत गई लुकेर बसेका थिए ।
प्रहरीको साइबर ब्युरोले मेहतालाई पक्राउ गर्न सुनसरी प्रहरीलाई लिखित पत्र पठाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी परिचालन गरि मेहतालाई पक्राउ गरिएको हो । सामाजिक सञ्जालको दुरुपयोग गरि ठगी गर्ने मेहताविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ विपरीतको ठगी सम्बन्धी कसुरअन्तर्गत शाहीले नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा जाहेरी दिनुभएको छ। पक्राउ परेका मेहतालाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटी काठमाडौं पठाइएको डीएसपी खतिवडाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्