रामेछाप, ११ असार । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित मन्थलीमा भलिबल प्रशिक्षकहरूका लागि एक हप्ते आधारभूत तालिम सुरु भएको छ।
असार ११ गतेदेखि १७ गतेसम्म चल्ने तालिममा रामेछाप, सिन्धुली र दोलखा जिल्लाका स्थानीय तहका भलिबल प्रशिक्षकहरूको सहभागिता रहेको छ। जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सञ्चालित उक्त तालिममा जम्मा ३३ जना प्रशिक्षक सहभागी छन्।
प्रशिक्षकहरूको व्यावसायिक क्षमताको विकास र स्थानीय तहमा खेलकुद विस्तारमा योगदान पुर्याउने उद्देश्यसहित तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ।
तालिम उद्घाटन समारोहमा बोल्दै वक्ताहरूले खेलकुद क्षेत्रको सुदृढीकरणका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको धारणा व्यक्त गरे। उनीहरूका अनुसार, प्रशिक्षकहरूलाई आधुनिक प्रविधि र व्यावसायिक ज्ञानसहित तालिम प्रदान गरिँदा उनीहरूले खेलकुदको विकासमा दीर्घकालीन योगदान दिन सक्नेछन्।
तालिममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रमुख भलिबल प्रशिक्षक जगदीश भट्टले प्रशिक्षण दिइरहनु भएको छ। उहाँले आधुनिक प्रशिक्षण प्रविधि, व्यायामको वैज्ञानिक विधि, खेलकुदको नियम तथा संरचना विषयमा व्यावहारिक अभ्यासमार्फत प्रशिक्षकहरूलाई सशक्त बनाउने प्रयास गरिरहेको जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सिताराम कार्कीले जानकारी दिनुभयो।
बुधवार मन्थलीमा सम्पन्न उद्घाटन समारोह मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति, विभिन्न खेल सङ्घ–संगठनका प्रतिनिधि, मन्थली नगरपालिका तथा स्थानीय तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उद्घाटन सत्रमा सहभागीहरूले खेलकुदको माध्यमबाट युवाको सृजनशीलता विकास र सामाजिक एकता सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया दिनुहोस्