जनता टाइम्स

८ फाल्गुन २०८०, मंगलवार १७:३३

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी


काठमाडौँ, ८ फागुन । नेपाल ए ले क्यानडा–११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा–११ लाई २ विकेटले पराजित गरेको हो । क्यानडा–११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए । बशीरले अविजित रहदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडा- ११ ले ४९.५ ओभरमा अलआउट हुदै २४० रन बनाएको थियो । क्यानडाका लागि श्रेयस मोभ्भाले सर्बाधिक ६८ रन बनाएका थिए । त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ए का बलर शहाब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २/२ विकेट लिएका थिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक/एक विकेट लिएका थिए । यो नेपाल ए टिमको पहिलो जित हो । यो जितपछि नेपाल ए ले क्यानडा–११ बीचको सिरिजमा १/१ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम खेल तथा निर्णायक खेल विहिबार हुनेछ ।