जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार २३:४२

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा मैले अनुसन्धान हुनु हुँदैन भनेको छैन : माधव नेपाल 


काठमाडौं, २५ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गर्नुभएको छ ।

पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले सो घटनामा गहन अनुसन्धान आवश्यक रहेको बताउनुभयो । आफूहरू कसै प्रति पूर्वाग्रह नराख्ने र अरूलाई पनि आफू माथि पूर्वाग्रह नराख्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले आफू सुशासनको पक्षमा रहेको बताउँदै सो जग्गा प्रकरणमा अनियमितता भएको रहेछ भने छानबिन हुनुपर्ने बताउनुभयो । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ, अनुसन्धान हुँदै जाला, मैले अनुसन्धान हुनु हुँदैन भनेको छैन, म सुशासनको पक्षपाती हुँ’, उहाँले भन्नुभयो ।

नेपालले आफ्ना कानुनविद्ले त्यस सम्बन्धी दस्ताबेज अध्ययन गिरहेका बताउँदै त्यस पछि कानुनी उपचारको प्रक्रिया अघि बढ्ने बताउनुभयो । ‘ म माथि यो किसिमको आरोप लागेको छ, यसको कानुनी उपचार हुन्छ’, उहाँले भन्नुभयो ।

एकीकृत समाजवादीका वाग्मती प्रदेश कमिटी अध्यक्ष भीम दाहालको अध्यक्षतामा बैठक भएको हो ।