जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार २३:५५

आइसिसी विश्वकप क्रिकेट लिग–२ को तेस्रो खेल : जितको नजिक पुगेर हार्‍यो नेपाल 


काठमाडौं, २५ जेठ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको तेस्रो खेलमा नेपाल जितको नजिक पुगेर स्कटल्याण्डसँग पराजित भएको छ ।

आइतबार भएको खेलमा नेपाल जम्मा २ रनले पराजित भएको छ । स्कटल्याण्डले दिएको ३ सय २४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३ सय २१ पुरा गरेको छ ।

अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल ऐतिहासिक जित नजिक पुगेर पनि खेल हार्नु परेको छ । खेलको अन्तिम ओभरमा नेपाललाई जितका लागि ७ रन आवश्यक थियो । तर पहिलो बलमा २ रन ल्याएका करण दोस्रो बलमा कुनै पनि रन जोड्न सकेनन् र तेस्रो बलमा क्याच आउट हुन पुगे ।

अन्तिम ३ बलमा नेपाललाई ५ रन आवश्यक थियो । चौथो र पाँचौँ बलमा एक/एक रन जोडे पनि अन्तिम ओभरमा आउट हुने पुगे र नेपाल खेल हार्न पुग्यो ।

नेपालका लागि भीम सार्कीले ७३, सोमपाल कामीले ६७ र दीपेन्द्रसिंह ऐरीले ५६ रन बनाएका थिए । त्यस्तै आरिफ शेखले ३९ रनको योगदान दिएका थिए । खेलमा दीपेन्द्र र सोमपालले सतकीय साझेदारी गरेका थिए ।

यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २३ रन बनाउँदै विशाल लक्ष्य दिएको थियो । स्कटल्याण्डका कप्तान रिची बेरिंटनले शतक प्रहार गरेका थिए ।

त्यस्तै चार्ली टियरले ६८ र माइकल लिस्कले अविजित ९६ रनको योगदान दिएका थिए ।

बलिङमा नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई र ललित राजवंशीले एक विकेट लिएका थिए ।

सिरिजअन्तर्गतको खलेमा नेपालले अब मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।