काठमाडौं, फागुन १४ । शहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागितामा ‘हावाको कुरा गरौं’ नामक अभियान शुरू भएको छ ।
काठमाडौं महानगरपालिकाले यूएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा हाँडीगाउँबाट अभियान शुरू गरेको हो । अभियानमा सवारी साधनको प्रयोगलाई कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने, यसको सट्टा हिंडने संस्कृति बढाउँदै लैजाने लगायत क्रियाकलाप हुने आयोजकले जनाएका छन ।
अभियान अन्तर्गत शहरी पूर्वाधार निर्माण गर्ने, सामाजिक र सांस्कृतिक क्रियाकलापलाई पर्यटन व्यवस्थापनसँग जोडेर स्थानीय बासिन्दाको आयमा सहयोग पुर्याउने, परम्परागत उद्यम तथा उद्यमशीलताको विकासलाई प्रवर्द्धन गरिने छ । यसले काठमाडौंका सम्पदाको संरक्षण र प्रवर्धनसँगै वातावरणीय सुधारमा समेत उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हाँडीगाउँमा सवारी प्रवेश निषेध गरिएका ठाउँमा हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सीप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपि लेखन सीप, मौलिक खाना, परम्परागत वाद्यवादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गरिएको छ ।
त्यस्तै, कला, साहित्य, सिर्जना र शहरी वातावरण सुधारका लागि काम गर्ने विभिन्न संघसंस्थाले सूचना तथा जानकारीमूलक प्रदर्शनी गरेका छन । आयोजकले दिएको जानकारी अनुसार काठमाडौंको मौलिकता पुनःस्थापनाका लागि हाँडीगाउँबाट थालिएको अभियान महानगरका अन्य स्थान तथा क्षेत्र र उपत्यकाभरि विस्तार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्