जनता टाइम्स

२१ फाल्गुन २०८०, सोमबार १५:२३

‘प्रचण्ड त महा धोकेबाज र फटाहा पो रहेछन’


काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जस्तो महा धोकेवाज र निकृष्ट मान्छे अरु नभएको र यस्ता मान्छे आफूले कहिल्यै नभेटेको बताउनु भएको छ ।

पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्य शेखर कोइरालालाई निवास बूढानिलकण्ठमा बोलाएर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै देउवाले यस्तो बताउनु भएको हो । देउवाले आज बिहान बूढानिलकण्ठमा छलफल गर्नुभएको हो । सो छलफलमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी दाहालको नियत नै धोका दिने रहेको निष्कर्ष सुनाउनुभयो ।

‘प्रचण्डलाई बिश्वास गरें, उनी त महाको धोकेवाज पो रहेछन, यत्तिको निकृष्ट मान्छे भेटेकैं थिईंन,’ बैठकमा देउवाको भनाई उधृत गर्दै एक नेताले जनताटाइम्स डटकमसँग भन्नुभयो । ती नेताका अनुसार बैठकमा देउवा प्रधानमन्त्री दाहालप्रति निकै आक्रामक बन्नुभएको थियो । उहाँका अनुसार देउवाले मन्त्री हेरफेर र राष्ट्रियसभा अध्यक्षलाई बाहाना बनाएर प्रचण्डले आफूहरुलाई धोका दिएको बताउनुभएको थियो ।

पछिल्लो छलफलमा आफू मन्त्री हेरफेर गर्न र राष्ट्रियसभा अध्यक्ष पनि छाडन तयार भएको बताएपनि प्रचण्डले बेइमानी गरेको बताउनु भयो । ‘म प्रचण्डको बिश्वासमा बसिरहे, उनी त कांग्रेसलाई कतिबेला लडाउने भनेर पो बसेका रहेछन,’ बैठकमा देउवाको भनाई उधृत गर्दै ती नेताले जनताटाइम्स डटकमसँग भन्नुभयो,‘मलाई दिनमा दुई पटक केपी ओलीले फोन गर्थे, भेट्न आउँछु भन्थे । मैले गठबन्धनमा आशंका हुन्छ भनेर ओलीलाई भेट्दा पनि भेटिनँ, तर प्रचण्ड त फटाहा रहेछन, सबै कुरा दिँदा पनि गठबन्धनलाई अगाडि बढाउन मानेनन । उनको नियत नै धोका दिने रहेछ ।’

बैठकमा दिइएको जानकारीअनुसार मन्त्री फेर्न र राष्ट्रिय सभा अध्यक्षसमेत छाड्न आफू देउवा तयार भए पनि प्रधानमन्त्री दाहाल नयाँ समीकरण बनाउन जुटेको बताउनु भयो । आइतबार बेलुकी बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेलगायतसँग प्रधानमन्त्रीले लामो समय छलफल गरी नयाँ समीकरणसाथ अघि बढ्ने समझदारी गर्नुभएको हो ।

सोही कारण सत्ता गठबन्धन बैठक सोमबार बिहान ८ बजेका लागि बोलाइएको भनिए पनि स्थगित गरेको सूचना बालुवाटारले पठाएको थियो । प्रधानमन्त्री दाहालले सोमबार बिहान उपसभापति खड्का र नेता कृष्णप्रसाद सिटौलालाई बालुवाटार बोलाएर नयाँ समीकरण बनाउन लागेको जानकारी दिएको बैठकमा देउवाले सुनाउनुभएको थियो ।

देउवाले प्रधानमन्त्री आलोपालो हुने समझदारीमा प्रधानमन्त्री दाहाल इमान्दार नभएकै कारण गठबन्धन टुटेको निष्कर्ष पनि सुनाउनु भएको ती नेताको भनाई छ । ‘प्रचण्डले मन्त्री फेर्न दिएनन भन्ने बहाना बनाएर मलाई दोष लगाए तर उनी आलोपालो प्रधानमन्त्रीमा इमान्दार रहेनछन, प्रचण्ड त महाको धोकेबाज पो रहेछन,’ बैठकमा देउवाको भनाई थियो ।