संखुवासभा, फागुन २१ । नेकपा एमाले संखुवासभाको अध्यक्षमा खड्गबहादुर राई सर्वसम्मत हुनुभएको छ ।
जिल्ला कमिटीको नवौं अधिवेशनबाट अध्यक्षमा राई सर्वसम्मत चयन हुनुभएको हो । जिल्ला अधिवेशनमा अध्यक्षका आकांक्षी भरत खत्रीले आफ्नो उम्मेदवारी फिर्ता लिएर राईलाई समर्थन गरेपछि उहाँ सर्वसम्मत चयन हुनुभएको हो ।
अध्यक्षमा राई सर्वसम्मत भएपनि उपाध्यक्ष, सचिव, उपसचिव र सदस्यहरुमा भने निर्वाचन हुने भएको छ । सचिवमा मात्रै तीन जना दावेदार देखिएका छन । यस्तै सदस्यमा पालिकाहरुलाई दिएको कोटामध्ये ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने ४ वटामा पालिकालाई दिइको कोटा अनुसार सदस्य छनौटको काम बाँकी रहेको छ ।
पालिकामा भएको पार्टी सदस्यताको आधारमा सदस्य पद दिइएको छ । एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले सहमति हुन नसकेको पदमा मतदानबाट टुंगो लगाइने जानकारी दिनुभयो ।
नेकपा एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रीय सदस्य जीवन घिमिरे, तुलसी न्यौपानेलगायतका नेता अधिवेशनमा पुग्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्