काठमाडौं, फागुन २४ । सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनु भएको छ ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नयाँ गठबन्धनसहित प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएपछि बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै एमाले प्रमुख सचेतक बर्ताैलाले सरकारलाई असफल हुने छुट नरहेको प्रष्ट पार्नुभएको हो । मन्त्रिपरिषद पुनर्गठनसँगै बर्ताैला सचेकतबाट प्रमुख सचेतकमा बढुवा हुनुभएको थियो ।
यसअघिका प्रमुख सचेतक पदम गिरी कानून, न्याय तथा संसदीय ब्यवस्था मन्त्री नियुक्त हुनुभएपछि संसदीय दलका नेता केपी शर्मा ओलीले बर्ताैलालाई प्रमुख सचेतकमा बढुवा गरी सचेकतमा सुनिता बराललाई जिम्मेवारी दिनुभएको हो । आजको बैठकमा बोल्दै बर्ताैलाले नेकपा एमालेसहितको सहभागीतामा सरकार बनेको भन्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेआवश्यकता औंल्याउनु भयो । उहाँले सरकार फेरिए पनि आफ्ना भूमिका र देशप्रतिको जवाफदेहीता नफेरिएको बताउनु भयो ।
‘हाम्रा आसनहरू फेरिएका छन । हाम्रा भूमिकाहरू फेरिएका छन । तर देशप्रतिको जवाफदेहिता फेरिएको छैन । जनताप्रतिको कर्तव्य बदलाव आएको छैन । यसकारण यो सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । सरकारले विकास, समृद्धि, सुशासन र सामाजिक न्यायलाई ध्येय बनाएर काम गर्नुपर्छ,’ बर्ताैलाले भन्नुभयो, ‘यो सरकारलाई लुलाउने छुट छैन । असफल हुने छुट छैन । कमजोर हुने छुट छैन । सरकारले समग्र देशको हितको पक्षमा काम गर्ने सामर्थ्य राख्नुपर्छ ।’
प्रमुख सचेतक बर्ताैलाले अव काँध लगे पनि फर्ने छुट बर्तमान प्रधानमन्त्रीलाई नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ’हिँड्दा हिँड्दै काँध गल्यो भने पनि काँध फेर्ने छुट यो सरकारलाई छैन । प्रधानमन्त्रीलाई छैन । हिँड्दाहिँड्दै आफ्नै भारीले थिचिने अवस्थाको वातावरण बनाउने पनि सरकारलाई छुट छैन ।’ प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारप्रति जनतामा थुप्रै आसा रहेको भन्दै त्यसलाई पूरा गरेर सरकारले जनताको मन जित्नुपर्ने पनि उहाँको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्