जनता टाइम्स

२५ फाल्गुन २०८०, शुक्रबार ११:३५

सामाजिक उत्तरदायित्वमा ग्लोबल आइएमई बैंकको उत्कृष्ट काम, ५ हजार बढीको सहभागितामा ४१ शाखाबाट एकसाथ वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं, फागुन २५ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ हजार भन्दा बढीको सहभागिता गराएर बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयले एक साथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले जनाएअनुसार कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । सो अवसरमा बैंक तथा बित्तिय कारोवार गराउन प्रोत्साहित गरिएको बैंकले जनाएको छ । मुलुकका विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५ हजार भन्दा बढी व्यक्तिहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो ।

बैंकले कोशी प्रदेशको झापा जिल्लास्थित दमक नगरपालिका र मोरङ्गको विराटनगर महानगरपालिकामा आयोजना गरेका कार्यक्रमहरुमा २ सय ५० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । यस्तै मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा एक सयभन्दा बढीको सहभागिता रहेको बैंकले जनाएको छ ।

यसैगरी बागमती प्रदेशअन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाँउपालिका, मन्थली नगरपालिका, काठमाडौंको काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, धादिङ जिल्लाको गल्छी गाँउपालिका, रसुवा जिल्लाको कालिका गाँउपालिका र गोसाईकुण्ड गाँउपालिकामा आयोजित कार्यक्रमहरुमा १२ सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

यस्तै गण्डकी प्रदेशअन्तर्गत स्याङजा जिल्लाको वालिङ्ग नगरपालिका, नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका, विनयी–त्रिवेणी गाँउपालिका, लमजुङ जिल्लाको बेशीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहूँ जिल्लाको भानु नगरपालिकाको कार्यक्रममा ९ सय भन्दा बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

बैंकले दिएको जानकारीअनुसार लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु जिल्लाको महराजगंज नगरपालिका, बाणगंङ्गा नगरपालिका, दाङ जिल्लाको दंगीशरण गाँउपालिका, राप्ती गाँउपालिका, गुल्मी जिल्लाको मालिका गाँउपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाँउपालिका, नवलपरासी जिल्लाको रामग्राम नगरपालिका, पाल्पा जिल्लाको पूर्वखोला गाँउपालिका, रोल्पा जिल्लाको रोल्पा नगरपालिका, रुपन्देही जिल्लाको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोहिणी गाँउपालिका, सिद्धार्थनगर नगरपालिका, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा २ हजार ५ सयभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

यसैगरी सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडी जिल्लाको डिलासैनी गाँउपालिका, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको कार्यक्रममा २ सयभन्दा बढी लक्षितवर्गहरुको सहभागिता थियो । यससँगै ग्लोबल आइएमई बैंकले ७६ शाखा कार्यालयहरुबाट ९ हजार भन्दा बढी लक्षित वर्गहरुलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरी बैंकिङ्ग कारोबार गर्न उत्प्रेरित गरेको छ । यस आर्थिक वर्षमा बैंकले आफ्ना ३५० भन्दा बढी शाखाहरुमार्फत यस्ता लक्षित वर्गको सहभागितामूलक कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको बैंकले जनाएको छ ।