जनता टाइम्स

२५ फाल्गुन २०८०, शुक्रबार १७:३५

जुट्यो ब्लडमनी, जोगिने भयो दुबई जेलमा मृत्यूदण्ड कुरिरहेका दुई नेपाली युवाको ज्यान


काठमाडौं, फागुन २५  युनाइटेड अरब इमिरेट्स् (यूएई) को जेलमा रहेका दुई नेपाली युवालाई ब्लडमनीबापत लाग्ने पैसा जुटेको छ । दुबईको जेलमा विगत ५ वर्षदेखि मृत्युदण्ड कुरिरहेका धादिङका पलमान मगर र ओखलढुंगाका भुवन श्रेष्ठलाई ब्लडमनी तिर्ने पैसा जुटेको हो ।

रोजगारीको सिलसिलामा दुबईमा रहेका मगर र श्रेष्ठलाई अदालतले मृत्यदण्डको सजाय सुनाउँदै ब्लडमनि दिएमा सो सजायबाट मुक्ति पाउने फैसला गरेको थियो । दुबईस्थित आफ्नै कम्पनीमा कार्यरत रहेका नवलपुरका बाबुराम आलेमगर गम्भीर घाइते रहेका बेला उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएपछि मगर र श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको थियो ।

दुबईको अदालतले उनीहरूलाई नेपालमा परिवारले मागेको ५०–५० लाख रुपैयाँ ब्लडमनी तिर्नुपर्ने फैसला सुनाएको थियो । अदालतले सो फैसला सुनाएपछि मगर र श्रेष्ठ बचाउ अभियान सञ्चालन गरेर १ करोड रुपैयाँँ संकलन गरिएको समाजसेवी घनश्याम थापामगरले जानकारी दिनुभएको छ ।

समाजसेवाी थापामगरका अनुसार यूएईमा मृत्युुदण्ड कुरेर बसेका मगर र श्रेष्ठ बचाउ अभियानमा ५०/५० लाख रुपैयाँ उठिसकेको छ । उहाँले सो रकम जुटेसँगै बुधबारबाट अभियान बन्द गरिएको जानकारी पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘सहयोगका लागि विश्वभरि छरिएर बस्नुभएका भगवानरुपी सहयोगी दाता र अभियन्ता साथीहरूमा धेरै धेरै धन्यवाद ।’

अब कानुनअनुसार मृतकको परिवारको खातामा १ करोड नेपाली रुपैयाँ जम्मा भएपछि एक अरबिक कानून ब्यवसायी वकिल खोजेर मुद्दा फिर्ताको तयारी थालिने उहाँले जानकारी दिनुभयो ।