चितवन, २५ फागुन । नेपाल औषधि उत्पादक संघ (एप्पोन) को आयोजनामा चितवनमा शुक्रबारदेखि ‘नवौं फर्मा एक्स्पो–२०२४’ सुरु भएको छ ।
‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा सुरु भएको तीन दिने एक्स्पोमा स्वदेश तथा विदेशी तथा विदेशी उद्योगको उत्साहबर्धक सहभागिता रहेको छ । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीनलगायत नौ देशहरूले एक्स्पोमा १६० वटा स्टल राखेका छन् । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाईएको छ भने उपकरण, ल्याब (प्रयोगशाला) कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ ।
एप्पोनका उपाध्यक्ष एवं यस एक्स्पोका संयोजक सन्तोष बरालले औषधि बन्ने प्रक्रिया, प्रविधि र पद्धतिको जानकारी दिने उदेश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘खासगरी औषधि कसरी बन्छ, कस्ता कस्ता प्रविधि र पद्धतीबाट बन्छ ? प्रक्रिया र पद्धतीको बारेमा जानकारी दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । कोभिड (१९ को बेलामा बाहेक एपोनले हरेक दुई दुई बर्षमा यो कार्यक्रम नियमित रुपमा आयोजना गरेको छ ।’ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्ने नीति सरकारले अपनाएको बताउनुभएको छ ।
‘नवौं फर्मा एक्स्पो २०२४’ को उद्घाटन गर्दै उहाँले सरकार र औषधि उद्योगीबिच कुनै खाडल नरहेको बताउनुभएको हो । नेपालमा के–के रोगहरु छन्, कस्ता औषधिको माग छ भन्ने कुरा अनुसन्धान गरेर औषधि उत्पादन गर्नुपर्नेमा उहाँको जोड थियो । नेपाली औषधि उद्योगको बजारीकरणको परम्परालाई पनि परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो,‘प्रतिष्ठित उद्योगलाई हानिनोक्सानी नहुने गरी मार्केटिङ कल्चरलाई व्यवस्थित गरेर, चुहावट रोकेर लगानी उत्पादनमा बढाउनु पर्छ ।’
यसो गरिएमा मूल्य समायोजनमा ध्यान दिन सकिने देवकोटाको भनाई छ । उत्पादनमा, नियमनमा र प्रेस्किप्सनमा नियति भएको भन्दै डा. देवकोटाले थप्नुभयो,‘नीतिको नियतीको जिम्मा हाम्रो हो । चिकित्सक प्रेस्किप्सनको नियति, औषधि व्यवस्था विभाग लगायत नियमनमा नियति र उत्पादनमा पनि नियति छ, यो हेर्नुपर्छ ।’
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एक्स्पोले हाम्रो औषधि उत्पादनको क्षमता प्रदर्शन गरेको बताउनुभयो । नेपाली औषधि उद्योगको बिकासका लागि सरोकार वाला सबैको नियत सफा हुनु पर्नेमा जोड दिदै औषधि लेख्ने डाक्टरको नियत पनि सफा हुनु पर्ने ढकालले बताउनुभयो । उहाँले भन्नुभयो,‘चिकित्सकले विरामीलाई कुन औषधि लेख्नुहुन्छ । त्यहाँबाट नियत प्रष्ट हुन्छ ।’ व्यापार प्रतिस्पर्धा पनि भएको भन्दै उहाँले प्रतिस्पर्धाविना विकास हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘सरकार र निजी क्षेत्र दुवै ले प्रतिस्पर्धा चाहन्छन् ।’ उहाँले नेपाली औषधिले काम गर्दै भन्ने सुन्न नपर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
जाम्बियाका मेडिसिन रेगुलेटरी अथोरोटीका डाईरेक्टर माकोमानी सियान्गाले कार्यक्रमले नेपाल र लाम्बियाबीच सम्बन्ध जोडको भन्दै आफूहरु नेपालको औषधिसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले औषधि उद्योगको बिकासका लागि नीति भन्दा जिम्मेवारीमा बसेका अधिकारीको नियत खराब रहेको बताउँदै नियत बद्ल्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
एप्पोनका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डेले औषधिका आधारभूत कुरामा अल्झन भन्दा विश्व बजारमा कसरी पुर्याउन सकिन्छ भन्ने बारे छलफल गर्नुपर्ने बताउनुभयो । एप्पोनका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले खुल्ला अर्थबजारमा मूल्य नियन्त्रित नहुने भन्दै नेपालको खुल्ला बजारमा औषधिलाई नियन्त्रणमा राख्न नहुने बताउनुभयो ।
कार्यक्रमका एप्पोनका अध्यक्ष महेश प्रधानले अहिलेको परिस्थितिमा सबै उद्योगहरु अप्ठ्यारोमा परेको भन्दै उहाँले संयमता अपनाउनु पर्ने समय रहेको बताउनुभयो । उहाँले नेपालमै पाँच वटा उद्योगले उत्पादन गर्ने औषधि आयातमा निरुत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘सरकारी स्तरबाट खरिद गर्ने औषधि नेपाली भएसम्म विदेशी खरिद नगरौं ।’
नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) का अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेल, एफिनका अध्यक्ष पदम खड्का, नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्सका भक्त हमाल लगायतले कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्