जनता टाइम्स

२८ फाल्गुन २०८०, सोमबार १९:०३

राजनीतिक चलखेल गर्ने प्रदेश प्रमुखमाथि सरकारले लियो एक्शन, तीन वटा प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँको नाम सिफारिश


काठमाडौं, फागुन २८ । गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रमुख मुक्त भएका छन । आज बसेको मन्त्रिपरिषद बैठकले अनावश्यक राजनीतिक चलखेल गरेको ठहरसहित तीन वटै प्रदेशका पमुखलाई पदमुक्त गर्ने निर्णय लिएको हो ।

मन्त्रिपरिषदले तीन वटै प्रदेशमा नयाँ प्रमुख नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रलाई हटाएर झापाकी सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई हटाएर डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई हटाएर साहित्यकारसमेत रहनुभएका मुस्लिम नेता नजिर मियाँलाई नियुक्त गर्न सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

‘प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक हुन्छ । अहिले हामीले प्रदेशहरूमा देखिरहेका छौं । कतै विश्वासको मत फिर्ता लिने कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने काम भइरहेको छ । त्यसकारण राजनीतिक रूपमा सहज होस । केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोेण समान होस् भनेर हामीले गरेका हौं,’ मन्त्री शर्माले भन्नुभयो । नयाँ नियुक्तिका लागि सिफारिस गरिएका प्रदेश प्रमुखहरू तीनै जना नेकपा एमालेका नेता तथा बुद्धिजिवि हुनुहुन्छ ।

झापाकी सुमित्रा भण्डारी केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला डेनमार्कको लागि राजदूत सिफारिस भएर पनि सरकार ढलेपछि नियुक्ति नपाउनु भएकी महिला नेतृ हुनुहुन्छ । प्राध्यापन पेशाबाट अवकाशप्राप्त भण्डारी एमालेनिकट अखिल नेपाल महिला संघकी नेतृ हुनुहुन्छ ।

यस्तै अर्घाखाँचीका नजिर मिया नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा संविधानसभा सदस्य हुनुहुन्छ । मिया नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।
यसैगरी डोटी निवासी डिल्लीराज भट्ट सल्लाहकार हुनुहुन्छ । भट्ट राष्ट्रियसभाको अघिल्लो निर्वाचनमा उम्मेदवार बनेर पराजीत हुनुभएको थियो ।