काठमाडौं, फागुन २९ । सरकार र मिटरव्याज पीडित संघर्ष समितिबीच ४ बुँदे सहमति भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा आज गृह मन्त्रालयमा ४ बुँदे सहमति भएको हो।
सहमतिसँगै मिटरव्याज पीडितहरूको आन्दोलन ४२औं दिनपछि स्थगित भएको छ। सहमतिपछि गृहमन्त्री लामिछानेले आफ्नो जायम मागको लागि दुःख गरेर काठमाडौं आउनुपर्ने अवस्था नै गलत भएको बताउनु भयो ।
सहमतिपत्रमा सरकारको तर्फबाट बार्ता टोली संयोजक रहनुभएका गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डित, उपसचिवद्वय बिश्वराज न्यौपाने र एकदेव अधिकारीले हस्ताक्षर गर्नुभएको छ । यस्तै पीटरब्याज पीडितको तर्फबाट नवलपरासीका अबधेश कुशवाहा, गोरखाका आदित्य राम, रौतहटका शिवशंकर महतो, कञ्चनपुरका दामोदर ढकाल, सर्लाहीका रुक्मिणी चौधरी, बाराका सोहन शर्मा, धनुषाका राजाराम यादवले हस्ताक्षर गर्नुभएको छ ।
आफूले मिटरव्याजहरूको माग सम्बोधन गर्न निरन्तर सदनमा बोलेको भन्दै गृहमन्त्री लामिछानेले कार्यभार सम्हालेको केही दिनमै समस्या समाधान गर्ने थप जिम्मेवारी आफ्नो काँधमा आएको बताउनु भयो ।

‘यति धेरै दुःख गरेर काठमाडौंसम्म आउनु नै गलत थियो। मैले सदनमा पनि यो कुरा उठाएको छु। मैले कार्यभार सम्हालेको केही दिनमै यो जिम्मेवारी पूरा गर्ने मलाई अवसर मिल्यो, सहमतिपछि लामिछानेले भन्नुभयो, समस्या समाधान गर्ने थप जिम्मेवारी हाम्रो काँधमा आएको छ। उचित मागलाई सम्बोधन गर्न र तपाइँहरूको पीडालाई अन्त्य गर्ने प्रतिवद्धता जनाउँछु ।’
उहाँले पीडितको मागलाई सम्बोधन गर्न यसअघिका मन्त्री जसरी गैरजिम्मेवार नबन्ने भन्दै मन्त्रालय हरदम तयार हुने प्रतिवद्धता पनि जनाउनु भयो । गृहमन्त्री रबि लामिछानेले यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठको गैरजिम्मेवारीपनका कारण मिटरब्याज पीडितले दुःख पाएको भन्दै सवै बदमासी भण्डाफोर गर्नुभएको हो ।
गृहमन्त्री लामिछानेको यो भनाईले यसअघिका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको बदमासी खुलेको छ । श्रेष्ठ गैरजिम्मेवार बन्दा पीडितहरु काठमाडौं आएर ४२ दिनसम्म आन्दोलन गर्नुपरेको उहाँको संकेत थियो । मिटरब्याज पीडितहरुले भने फेरि धोका नहोस भन्नेतर्फ सचेत गराएका छन ।














प्रतिक्रिया दिनुहोस्