जनता टाइम्स

२ चैत्र २०८०, शुक्रबार २१:०८

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय : जेल जाने भए यी भिआइपी


काठमाडौं, चैत २ । सरकारले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचुबझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनलाई जस्ताको त्यस्तै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयनमा लैजाने निर्णयसँगै पूर्वसभामुख तथा सत्तारुढ नेकपा माओवादी केन्द्रकै उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुल महरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, जीतेन्द्र पुन, सल्लाहकार जीवन गुरुङ अव जेल जाने भएका छन ।

यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) किरण बज्राचार्यसहित एक प्रहरी उपरीक्षक र दुई प्रहरी नायव उपरीक्षकको जागिर जाने भएको छ । अनुसन्धान गरी कार्वाही गर्नुपर्ने निकायमा बसेर तात्कालिन मन्त्रीको आदेश पालक बनी अभियुक्त जोगाउने र रकम असुली गर्ने गरेको तथ्य भेटिएपछि उनीहरुको जागिर धरापमा परेको हो ।

आयोगले बिहीबार मात्रै सो प्रकरणमा जाँचबुझ गरी गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । गृहमन्त्री लामिछानले शुक्रबार विहानै सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउनु भएको थियो । सो प्रतिवेदनमाथि आजै मन्त्रिपरिषदमा छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय भएको हो ।

अन्तराष्ट्रिय बिमानस्थलबाट सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उच्चपदस्थ माओवादीका उच्च नेतासहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको छ । आयोगको प्रतिवेदनले तात्कालिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पनि गम्भीर प्रश्न उठाएको छ । यो प्रतिवेदनपछि श्रेष्ठ तस्करी समुहका संरक्षक बनेर प्रहरीको अनुसन्धान नै कमजार पार्ने काममा लागेको तथ्यसमेत उजागर भएको छ ।

एआइजी बज्रचार्यसहितका प्रहरीले सुन तस्कर जोगाउने भूमिका खेलेको देखिएको प्रतिवेदनमा किटानी गरिएको छ । एआइजी बज्राचार्य दोषी ठहर भएसँगै पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पनि गम्भीर प्रश्न उठेको छ । बज्रचार्यले सवै काम मन्त्री श्रेष्ठकै निर्देशनमा गरेको बयान दिनुभएको स्रोतले जनाएको छ ।

आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वसभामुख महरासहित ठमेलको छाया सेन्टरमा वाल्डो क्यासिनो सञ्चालन गरिरहेका चिनियाँ नागरिक टेरेन्स टिएचसी, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयका परराष्ट्र विज्ञ जीवन गुरूङ, विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी र जीवन चलाउने तथा होटल भियनाका सञ्चालक मन्जिल श्रेष्ठलाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको छ । उनीहरु सवै दोषी भएकोले जेल जाने निश्चित भएको हो ।

यस्तै नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख एआइजी बज्राचार्य, प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षकद्वय (डिएसपी) रूगम कुँवर र दुर्गा दाहालको जागिर जाने भएको हो । यस्तै यसैगरी सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरेलाई पनि प्रतिवेदनले दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेकोले जागिर धरापमा परेको छ ।

आयोगका सदस्यहरुका अनुसार एआइजी बज्राचार्यसहितका सिआइवीका अधिकृतहरुले सुन तस्करीको अनुसन्धानमा हदैसम्मको बेइमानी गरेको पाइएको छ । ‘सुन तस्करीको छानविन होइन, तस्कर जोगाउने काममा सिआइवी लागेको देखियो । यो हदसम्मको बदमासी होला भन्ने अपेक्षासमेत गरिएको थिएन,’ एआइजी बज्रचार्यसहितका अधिकारीमाथि कार्वाही सिफारिशको बिषयमा आयोगका एक सदस्यले जनताटाइम्स डटकमसँग भने । ती सदस्यका अनुसार बज्रचार्यसहितका अधिकारीहरु तस्कार जोगाउने मतियार बनेको पाइएको छ ।