चितवन, चैत ४ । चितवनको इच्छाकामनामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन ।
मृत्यु हुनेमा भारतको मोतिहारी चम्पारनका ३७ वर्षीय गौरी दास रहेका छन्। दुर्घटनामा परी घाइते भएका उनको उपचारका लागि भरतपुर तर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२५ नम्बरको बस इच्छाकामना–६ जलबिरेस्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा टायर पञ्चर भई बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी ट्रक चालक वीरगञ्ज–२३ बस्ने ३३ वर्षीय हाकिम मियाँको टाउकोमा चोट लागेको छ भने र भारतको विहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रिता गुप्ताको मुखमा चोट लागेको छ। दुबैजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बसमा सवार सर्लाहीको बरहथवा नगरपालिकाको मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बरनाथ कुमारको पनि भरतपुरमा उपचार भइरहेको छ। प्रहरीले बस चालक नवलपरासी (सुस्तापुर्व)कावासोती–१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया दिनुहोस्