काठमाडौं, ५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले देशको मात्र होइन डडेलधुराको विकासका लागि समेत केही काम गर्न नसकेको बताउनुभएको छ ।
नेकपा एमाले डडेलधुराको नवौँ जिल्ला अधिवेशनको आज पर्शुराममा उद्घाटन गर्दै अध्यक्ष ओलीले पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवाले देखाउन लाएकको कुनै काम गर्न नसक्नु भएको बताउनुभयो ।
‘मैले देउवाजीलाई सोधेको थिएँ पाँच–पाँच पटक प्रधानमन्त्री हुनु भयो देशको लागि के गर्नु भयो भन्दा उहाँले भन्न सक्नु भएन’, ओलीले भन्नुभयो । आफूले प्रधानमन्त्री हुँदा देशको विकास र समृद्धिका लागि अनेकन काम गरेको ओलीले बताउनुभयो । आफूले गरेका कामका अनेक उदाहरण दिनसक्ने ओलीले बताउनुभयो । आफूले सरकारको नेतृत्व गर्दा देशै भर ठुला परियोजना एकै साथ सुरु गरेको उहाँले स्मरण गराउनुभयो ।
शेरबहादुर देउवाले खुलेआम पैसा बाँडेर चुनाव जित्ने गरेको पनि ओलीले बताउनुभयो । त्यो आफूले लगाएको आरोप नभई टेलिभिजनमा लाइभ देखिएको ओलीको भनाइ छ । ‘उहाँको जित्ने तरिका त्यही हो’, उहाँले भन्नुभयो ।
आफूले सराकारको नेतृत्व गर्दा उत्पादन वृद्धिदर सात प्रतिशत माथि पुगेको भए पनि आफू सरकारबाट हट्ने बित्तिकै अर्थतन्त्र निरन्तर अर्थतन्त्र ओरालो लागेको ओलीले बताउनुभयो । सेती लोकमार्ग, महाकाली कोरिडोर, मदन भण्डारी मध्य पहाडी लोकमार्ग, ३ सय ९६ अस्पताल, सबै पालिकामा औद्योगिक ग्रामहरू लगायतका धेरै काम आफूले सुरु गरेको ओलीले बताउनुभयो ।
ओलीले डडेलधुराको विकासको लागि अब नेकपा एमालेले काम गर्ने बताउनुभयो । शेरबहादुर देउवाले आफ्नै गाउँमा अस्पताल बनाउने घोषणा समेत कार्यान्वयन नगर्नुभएको ओलीले बताउनुभयो । डडेलधुराका जनताले राखेको माग एमाले समक्ष आएको बताउँदै ओलीले त्यहाँका जनताका माग एमालेले पूरा गर्ने बचन दिनुभयो । ओलीले एमालेका नेता र जनप्रतिनिधि जनतालाई बाटो देखाउने काम गर्नुपर्ने बताउनुभयो ।
कृषिमा कसरी आधुनिकीकरण गर्न सकिन्छ र त्यसलाई कसरी बजारसम्म पुर्याउन सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्नेमा उहाँले जोड दिनुभयो । ओलीले सुदूरपश्चिमका जनता अहिले होइन पहिलादेखि नै निरङ्कुशताका विरोधी भएकाले कुनै प्रकारको निरङ्कुशता सुदूरपश्चिमले नस्विकार्ने उहाँले बताउनुभयो । भीमदत्त र दशरथ चन्द लगायतले जीवन दिएर त्यसलाई प्रमाणित गर्नुभएको ओलीले धारणा राख्नुभयो । ओलीले अब राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।













प्रतिक्रिया दिनुहोस्