जनता टाइम्स

५ चैत्र २०८०, सोमबार १८:२२

‘पार्टी नेतृत्वको सही कदम र पुरानो गठबन्धनबाट अघि बढन नसक्ने प्रधानमन्त्रीको निश्कर्षका कारण नयाँ गठबन्धन बन्यो’


काठमाडौं, चैत ५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा छाएको चरम निरासालाई चिरेर आसाको सञ्चार गर्न नयाँ गठबन्धन निर्माण गर्नुपरेको तथ्य राख्नुभएको छ । अहिलेको गठबन्धन देश र जनताका लागि अनविार्य भएकोले नेतृत्वले यस्तो निर्णय लिनुपरेको महासचिव पोखरेलले बताउनु भयो ।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी महासचिव पोखरेलले मुलुकका लागि नेतृत्वले कहिलेबाँहि निकै छिटो निर्णय लिनुपर्ने अवस्था आउने र सोहीअनुसार अहिले पार्टी नेतृत्वले निर्णय लिएको बताउनु भयो ।

उहाँले एमालेकै पहलकदमीमा कांग्रेस नेतृत्वको राष्ट्रहित बिरोधी गठबन्धन फालेर एमाले नेतृत्वको राष्ट्रवादी गठबन्धन बनेको प्रष्ट पार्नुभयो । उहाँले देश परिवर्तनको लागि काम गर्न चाहने पाँच राजनीतिक दलहरुबीच सत्ता सहकार्य अघि बढेको पनि उहाँको भनाई छ । ‘अहिलेको गठबन्धन जनतामा आसा जगाउनका लागि हो । यो हामीले यसलाई गठबन्धन भन्दा पनि नयाँ सत्ता समीकरण भनेका छौं,’ महासचिव पोखरेलले भन्नुभयो ।

देश र जनताको लागि असफल भइसकेको कांग्रेस नेतृत्वको गठबन्धनलाई परिवर्तन गर्नुपर्छ भन्ने मान्यताका साथ एमालेले सरकार परिवर्तनको प्रयास गरेको पोखरेलले बताउनु भयो । स्वयं प्रधानमन्त्री पनि पुरानै गठबन्धनबाट देशलाई अघि बढाउन सकिँदैन भन्ने निष्कर्षमा पुगेको कारण नयाँ सत्ता समीकरणको वातावरण बनेको महासचिव पोखरेलको भनाइ छ ।

‘एमालेबिरुद्धको घेरावन्दी ताडनै पर्ने थियो । पार्टीले त्यसका लागि आवश्यक रणनीति अघि बढाएकै बेला गठबन्धनमा समस्या आयो, हामीले त्यो अवसरलाई चुक्न दिएनौं र बिग्रिएको राजनीतिक कोर्सलाई सही बाटोमा फर्काउने काम भयो । हाम्रो पार्टी नेतृत्वको सही कदमसँगै प्रधानमन्त्री पनि पुरानै गठबन्धनबाट देशलाई सही ढंगबाट अघि बढाउन सकिँदैन, जनताको अपेक्षा पूरा हुन्न भन्ने निष्कर्षमा पुगेपछि परिणाम आएको हो,’ जनसंगठनका अध्यक्ष र इञ्चार्जहरुलाई प्रष्ट पार्दै महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले अहिले सरकारमा सहभागिता र मन्त्रालयको बिषयमा कार्यकर्ता पंङ्ती केही आक्रोशित रहेको र आलोचना गरेको भन्दै सो बिषयमा पनि प्रष्ट पार्नुभयो । ‘कार्यकर्ताबाट हदभन्दा बढता लचकता भयो, प्रभावशाली र ठूला मन्त्रालय लिइएन, सवै छाडियो भनेर आलोचना भएको सुनिन्छ । तर देशको आवश्यकता र निरासा चिरेर अघि बढाउने प्रयाश हो । गठबन्धनको मुख्य नेता नै एमाले भएकोले मन्त्रालयको बिषयलाई लिएर हामी कसैले पनि चित्त दखाउने वा मन खिन्न पार्ने काम गर्न हुन्न,’ महासचिव पोखरेलले भन्नुभयो ।

‘अहिले पाँच वटा राजनीतिक दलको सहमतिमा नयाँ सहकार्य सुरु भएको छ, यो बाम गठबन्धन होइन, परिवर्तन चाहने शक्तिहरुबीचको सहकार्य हो,’ महासचिव पोखरेलले भन्नुभयो । कतिपयले यसलाई सत्ता गठबन्धन भने पनि मूलतः देशका पक्षमा, जनतामा बढ्दै गएको निराशालाई आशामा परिणत गर्ने मान्यताको पक्षमा रहेका राजनीतिक दलका बिच सहकार्य मात्र भएको उहाँले बताउनुभयो ।

नयाँ सहकार्यलाई बलियो बनाउनु पर्छ भन्ने मान्यताका साथ सबैलाई विश्वासमा लिएर अघि बढ्ने प्रयत्न भएको र सरकारलाई कसरी सफल बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिइएको भन्दै महासचिव पोखरेलले सवै नेता कार्यकर्ता अव त्यसैअनुसार अघि बढनुपर्ने बताउनु भयो । महासचिव पोखरेलले एमालेका जनसंगठनलाई पनि सरकारलाई राष्ट्र र जनताको पक्षमा कसरी बढी उपयोग गर्न सकिन्छ भन्ने हिसाबले लाग्न निर्देशन दिनुभयो ।

यति बेला नेकपा एमाले नयाँ परिस्थितिबाट अघि बढेको बताउँदै महासचिव पोखरेलले अव चौतर्फी घेराबन्दी र आक्रमणको अवस्था अन्त्य भएको बताउनु भयो । एमालेले दुईवटा चुनाव झण्डै आधा दर्जन पार्टीका विरुद्ध एक्लै लड्नु परेको भन्दै पोखरेलले घेरावन्दी ताडनुपर्छ भन्ने एमाले पंङ्ती नै मन्त्रालयको भागबण्डामा हामीले खोजेको भएन भनेर मन खिन्न पार्न नहुने र नेतृत्वप्रति बिगतकै जस्तो दृढ समर्थन गर्नुपर्ने बताउनु भयो । उहाँले चौतर्फी घेराबन्दीलाई तोड्न सक्दा नै पार्टीको मिसनलाई सफल बनाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेको कारण पनि गठबन्धन नयाँ बनाइएको बताउनु भयो ।

‘चौतर्फी भइरहेको घेराबन्दीबाट बाहिर निस्कन सक्यो भने मात्रै पार्टीलाई स्थापित गर्न सकिन्छ भन्ने मान्यता नेकपा एमालेले स्थापित गरेको छ, त्यसैअनुसार नेतृत्वले सही समयमा सही कदम चालेर गठबन्धन तोडेको हो, अव देशलाई सहज कोर्समा लैजान हामी सवै लाग्नुपर्छ,’ बैठकमा महासचिव पोखरेलको भनाई उधृत गर्दै संयन्त्रका सदस्य प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले भन्नुभयो । अध्यक्ष बस्नेतका अनुसार बैठकमा महासचिव पोखरेलले नयाँ गठबन्धन निर्माणका बिभिन्न चरणबारे सबिस्तार जानकारीसहित अवको यात्राको बिषयमा अवगत गराउनु भएको छ ।

उहाँले मन्त्रालयहरु आफै बलिया र कमजोर नहुने भन्दै काम गरेर देखाउने हुटहुटीका साथ जनताका सरोकार रहेका मन्त्रालयहरु लिइएको जानकारी पनि दिनुभयो । कृषि, महिला, बालबालिका तथा जेष्ठ नागरिक, खानेपानी, उद्योग जस्ता मन्त्रालय कमजोर नरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राजनीतिक कोर्स बदलिएकोले जनतामा आसाको सञ्चार गर्नुपर्ने भन्दै जनसंगठनहरुले आफ्ना सरोकारमा मुद्धामा सरकारलाई सही सूचना र दवाव दिएर माग सम्बोधन गर्नेतिर लाग्नुपर्ने बताउनुभयो ।

बैठकमा स्थायी कमिटी सदस्य तथा प्रैस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमसहित २३ मध्ये अधिकांश जनसंगठनका इञ्चार्ज र अध्यक्षहरूको सहभागिता रहेको थियो । केही जनसंगठनका भने अध्यक्ष र इञ्चार्ज दुवै उपस्थित नभएको जानकारी बैठकमा संयोजक ढकालले दिनुभएको थियो । बैठकले सवै जनसंगठनका आगामी कार्ययोजना निर्माण गरेको छ ।