जनता टाइम्स

२७ चैत्र २०८०, मंगलवार ११:१९

मौलायो सुन ब्यवसायीको ठगी काम, तोकिएको भन्दा निकै बढी तिर्न बाध्य छन उपभोक्ता दाम


नेपाल सुनचाँदी ब्यवसायी महासंघले मूल्य निर्धारण गरेपनि सुन ब्यवसायीले उपभोक्तासँग तोलाकै डेढ लाख रुपैयाँभन्दा बढी रकम असुली गर्ने गरेको तथ्य उजागर भएको छ ।

काठमाडौं, चैत २७ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ तोक्यो । महासंघले सो मूल्य तोकेपनि सर्वसाधारणले गहना किन्दा तोलाकै डेढ लाख रुपैयाँभन्दा बढी तिर्नूपर्यो ।

महासंघले तोकेको मूल्यमा व्यवसायीले ज्याला, जर्ती र मुनाफा जोडेर बिक्री गर्दा सर्वसाधारणलाई तोकिएभन्दा निकै बढी खर्च गर्नुपरेको हो । काठमाडौंलगायत सहरी क्षेत्रका सुन व्यवसायीले उपभोक्तासँग १६ देखि १८ प्रतिशत ज्याला–जर्ती जोड्दै आएका छन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार स्थानीय बजारमा करिब १२ प्रतिशतसम्म ज्याला–जर्ती जोडेर बिक्री गर्ने गरिएको छ । तर १६ देखि १८ प्रतिशतसम्म लिने गरिन्छ । नेपालमा अन्तर्राष्ट्रिय मूल्य र भारतको बजारलाई आधार मानेर सुनको भाउ तोक्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर नेपालमा मूल्य निर्धारण गर्ने गरिएको पूर्वअध्यक्ष शाक्य बताउनु हुन्छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क र १ प्रतिशत नाफा राख्ने गरिएको छ ।

महासंघले यसरी एउटा मूल्य निर्धारण गरे पनि गहना व्यवसायीले थप केही प्रतिशत मूल्य जोडेर बिक्री गर्दै आएका छन । जस्को कारण उपभोक्ता महँगो मूल्य तिर्न बाध्य हुनुपरेको हो । पूर्वअध्यक्ष शाक्यकै भनाइअनुसार सोमबारको भाउमा १२ प्रतिशत ज्याला–जर्ती जोड्दा सर्वसाधारणले एक तोला गहनामा १ लाख ५२ हजार ५ सय ४४ रुपैयाँ तिर्नुपर्छ । १८ प्रतिशतको दरले जोड्दा १ लाख ६० हजार ७ सय १६ रुपैयाँ पर्छ ।

शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, १५ प्रतिशत भन्सार दर र १ प्रतिशत नाफा राखेर महासंघले बजार मूल्य निर्धारण गर्छ । उक्त मूल्यमा व्यवसायीले थप ज्याला–जर्ती जोडेर गहना बिक्री गर्छन । महासंघले मूल्य निर्धारण गर्दा १ प्रतिशत मुनाफा राखिदिए पनि व्यवसायीले थप केही प्रतिशत मुनाफा असुल्ने गरेका छन । आफूले गरिद गरेको गहना बिक्री गर्दा महासंघले निर्धारण गरेको मूल्यमा बिक्री गर्न उपभोक्ता बाध्य भइरहेका छन ।

गहना क्षेत्रमा मूल्य र गुणस्तरमा मनोमानी रहे पनि सरकारी निकाय मौन बसेको छ । मूल्यका विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तरसम्बन्धी गुणस्तर तथा नापतौल विभागले अनुगमन नियमन गर्नेनिकाय हो । यी दुई निकाय ब्यवसायीसँग मिलेर मौन बस्दै आएका हुन । सुन हुनेले किन्ने हुन भन्दै ब्यवसायीसँग मिलेर यी बिभाग कानमा तेल हालेर बसेको आरोप छ ।

पछिल्ला दिनमा सुनको मूल्यले दिनदिनैजसो नयाँ–नयाँ कीर्तिमानी बनाउँदै गएको छ । अन्तर्राष्ट्रिय बजारमा भइराखेको उत्तारचढावले यहाँ पनि कीर्तिमानी बनाएको महासंघले जनाएको छ । महासंघले सोमबार प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ मूल्य तोक्दा कीर्तिमानी मूल्य बनेको हो । आइतबार प्रतिऔंस २ हजार ३ सय ३० अमेरिकी डलरमा कारोबार भएको सुन सोमबार १२ डलर बढेको हो ।

शुक्रबार मात्रै अमेरिकी बजारमा प्रतिऔंस सुन ५३ डलरले बढ्यो । बिहान २ हजार २ सय ७७ डलरमा कारोबार भएको सुन बजार बन्द हुँदा २ हजार ३ सय ३० डलर पुग्यो । सोही कारण आइतबार नेपाली बजारमा प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको पूर्वअध्यक्ष शाक्यको भनाई छ । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंस सुन २३४२ डलर पुग्यो । एकै दिन प्रतिऔंस १२ डलरले मूल्य बढ्दा यहाँ १ लाख ३६ हजार २ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भयो ।

शाक्य सुनको मूल्य अझै बढने बताउनु हुन्छ । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन २५ सय डलर पुग्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २५ सय डलर हुँदा यहाँ महासंघको मूल्य प्रतितोला १ लाख ५० हजार पुग्नेछ । त्यति बेला सर्वसाधारणले खरिद गर्ने मूल्य १ लाख ८०/८५ हजार रुपैयाँसम्म पुग्ने देखिन्छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय ५० रुपैयाँ रहेको छ भने चाँदी प्रतितोला १६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।