जनता टाइम्स

२ बैशाख २०८१, आईतवार १६:५१

सुजन बाग श्रेष्ठले दोस्रो पटक छेडे जिब्रो


काठमाडौं, २ बैशाख । सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेड्नुभएको छ । बिस्काः जात्राको अवसरमा २८ बर्षिय सुजनले आज जिब्रो छेड्नुभएको हो । उहाँले अघिल्लो वर्ष पनि जिब्रो छेड्नुभएको थियो । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आउनुभएको स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छा छोरा हो । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो ।

त्यसपछि उहाँले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाउनुभएको थियो । विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेडाउनुभयो ।

जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको थियो । त्यसपछि विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने बताउनुभयो । त्यसयता पुनः बुद्धकृष्णले २०७९ सम्म जिब्रो छेडाउनुभएको थियो । जात्राको हालसम्मको प्रमाणअनुसार १२ जनाले १०६ वर्ष जिब्रो छेडाएको इतिहास रहेको छ ।