जनता टाइम्स

२ बैशाख २०८१, आईतवार १७:५४

नेपाली सेनाको हिमाल सफाइ टोली स्याङ्गबोचेमा


काठमाडौं, २ बैशाख । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जनाको सफा हिमाल अभियान(२०२४ मा संलग्न रहने टोली नेपाली सेनाको हवाई साधन मार्फत स्याङ्गबोचे इलाकामा अवतरण भएको छ । अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तर्क्रिया गर्दै करिब ७ दिनको पदयात्रा पश्चात् सो टोली सगरमाथा आधार शिविर पुग्ने योजना रहेको छ ।

पदयात्राको क्रममा सचेतना अभिवृध्दि तथा अभियानको प्रचार प्रसारको लागि पदमार्गको सरसफाइ समेत गरिनेछ ।

एन एन्डेवर टु सेभ द हिमालयज भन्ने मूल थीमका साथ सञ्चालन हुन गइरहेको यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको नेपाली सेनाले जनाएको छ । यस अघि गत विहिबार जङ्गी अड्डामा आयोजित एक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले क्याम्पेन लिडर सेनानी आदित्य कार्कीलाई क्याम्पेन फ्ल्याग हस्तान्तरण गरी अभियानको थालनी गरेका थिए ।