झापा, असोज १३
प्रतिबन्धित विप्लव समुहले झापामा ठुलो परिणाममा विस्फोटक पदार्थ लुकाएको खुलासा भएको छ । प्रहरीले आइतवार साँझ सो विस्फोटक पदार्थ भेटेपछि लुकाएको खुलेको हो । अर्जुनधारा नगरपालिका–१ बाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी स्रोतका अनुसार बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायत बरामद भएको छ । झापा प्रहरी र इलाका प्रहरी कार्यालय विर्तामोडको संयुक्त टोलीले बिस्फोटक पदार्थ बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले बिस्फोटक पदार्थ बरामद भएको ठाउँलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
प्रहरीले बम बिस्फोटमा संलग्न विप्लव समूहका झापा जिल्ला इञ्चार्जसहित तीन जनालाई केही समयअघि पक्राउ गरेको थियो । पक्राउ परेकाको बयानका आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति अर्जुनधाराको एक ठाउँमा छापा मारी बिस्फोटक पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ । यद्यपी घटनाको विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन । छापा मार्दा प्रहरीले विप्लव माओवादी कार्यकर्ता भने फेला नपरेको जनाएको छ। बरामद भएको बिस्फोटक पदार्थको परिमाणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्