जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार १०:४२

सभामुख महरा प्रकरण : दुई अध्यक्ष छलफलमा जुटे, आउन सक्छ यस्तो निर्णय


काठमाडौं, असोज १४

सभामुख कृष्णबहादुर महरामाथी लागेको गम्भिर आरोपका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केही समय अगाडी पुगेका प्रचण्ड र प्रधानमन्त्रीसमेत रहनु भएका ओलीबीच छलफल भएको हो ।

अध्यक्षद्वयले यति गम्भिर आरोप लागेपछि कसरी अगाडी भन्ने विषयमा छलफल भएको खुमलटारस्रोतले जानकारी दिएको छ । उनीमाथि एकजना महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपको छानबिनका लागि सहज वातावरण बनाइ दिन आफू तयार संकेतपनि सभामुख महराले दिइसकेको स्रोतले बताएको छ । खुमलटार स्रोतका अनुसार महरालाई मार्ग प्रसस्त गरेर छानविनमा सहयोग गर्न लगाउनेसम्मको कुराकानी भईरहेको बुझिएको छ । सभामुख महराले यसविषयमा आज विहान दुवै अध्यक्षसँग छलफल समेत गरेको बताइएको छ ।

यसैविच, प्रहरीले पनि घटनाको अनुसन्धान शुरु गरेको छ । घटना भएको करिव दुई दिन वितिसक्दा पनि प्रहरीमा उजुरी भने नपरेका कारण के गर्ने भन्ने बारेमा अन्यौलमा देखिएको छ । प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार घटनाका बेला आरोपित र पिडित भनिएका व्यक्तिको मोवाइल फोनको ट्याक गर्नका लागि टोली खटाइ सकेको छ । सोमबार नै प्रहरीले फोनको डिटेल पत्ता लगाउन एक टोली खटाइसकेको जानकारी दिएको छ ।