जनता टाइम्स

१३ जेष्ठ २०८१, आईतवार १९:३७

सुनसरी कांग्रेसमा पहिरो, पूर्वकेन्द्रीय सदस्यदेखि सभापतिसम्म एमालेमा प्रवेश


सुनसरी, जेठ १३ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, जिल्ला सभापति एमालेमा प्रवेश गरेका छन ।

एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा बृहत पार्टी प्रवेश कार्यक्रममा सुनसरीका पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री एवं नेपाली काँग्रेस पूर्वकेन्द्रीय सदस्य सुमित्रा कुमारी विश्वास, सुनसरीका पूर्वजिल्ला सभापति प्रदीप कुमार चौधरीसहित सयौँ नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गर्नुभएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृतलगायतका पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेकालाई स्वागत गर्नुभयो । अध्यक्ष ओलीले नयाँ प्रतिनिधिहरूले नयाँ एजेन्डा लिएर सत्यको पक्षमा रहेर जनताको हक हितमा लाग्न सुझाव दिनुभएको थियो । ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेकपा एमाले देशकै ठूलो र लोकतान्त्रिक पार्टी भएको बताउनु भयो ।

‘नेकपा एमाले मात्रै यस्तो पार्टी हो, जसले आफ्ना कार्यकर्ताको भावना र मर्का सुन्छ, बुझ्छ,’ उहाँले भन्नुभयो । फरक प्रसङ्गमा ओलीले अहिले कांग्रेस रवि लामिछानेको पछि हात धोएर लागेको बताउनु भयो । पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री विश्वासले आफू जस्ता धेरै नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा रहेको तर सबै पीडित भएर बसेको बताउनु भयो ।

‘कांग्रेसमा परिवारवाद हाबी भयो, बस्ने वातावरण भएन र हामीले विद्रोह गर्यौं, परिवारवादको अत्याचार अन्त्य, लोकतन्त्र र गणतन्त्र रक्षाको निम्ति नेकपा एमाले प्रवेश गरेका हौं,’ उहाँले भन्नुभयो ।