काठमाडौं, असार ५ । नेपालको समकालीन राजनीतिमा आफूलाई ‘सुशासन’, ‘नैतिकता’ र ‘आदर्श’को पर्याय ठान्ने नेताहरूको असली अनुहार क्रमशः प्रकट भइरहेका छन्।
आफूलाई इमानदार, सिद्धान्तनिष्ठ र शुद्ध राजनीतिको प्रवक्ता झैँ प्रस्तुत गर्ने पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र पार्टीका उपमहासचिव मेटमणि चौधरी गम्भीर आरोपको घेरामा छन्।
पूर्वप्रधानमन्त्री नेपालको नाममा भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेपछि उहाँको सांसद पद स्वतः निलम्बनमा परेको छ । त्यसको केही दिन नबित्दै पार्टीकै अर्को शीर्ष नेता चौधरीमाथि पनि ठगी र बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ। यी दुई मुद्दाले ‘नैतिकता’को राजनीतिक भाषणमा रमाइरहेका नेताहरूको व्यवहारिक अनुहार एकै पटक उजागर गरिदिएको छ।
पतञ्जलि प्रकरण र माधव नेपालको निलम्बन
नेपाल सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेका माधवकुमार नेपाल यति बेला ‘पतञ्जलि प्रकरण’ नाम दिइएको एक बहुचर्चित भ्रष्टाचार मामिलामा आरोपी हुनुभएको छ ।
सरकारी जमिन पतञ्जलि योग पीठलाई ट्रष्टको नाममा दिँदा शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा उहाँसहित १२ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा विचाराधीन छ ।
यो प्रकरण सिधै ‘भूमि हडप्ने’ योजनासँग जोडिएको छ। प्रधानमन्त्रीको हैसियतमा रहेका बेला माधव नेपालले सरकारी प्रक्रियाको उल्लङ्घन गर्दै पतञ्जलिलाई लाभ पुग्ने गरी सो जग्गा दिएको आरोप अख्तियारको छ ।
मुद्दा दर्ता भएसँगै नेपालको सांसद पद निलम्बनमा परेको छ । जुन नेपालको संविधान, मुलुकी अपराध संहिता र अख्तियारसम्बन्धी ऐनअनुसार स्वतः लागु हुने प्रक्रिया हो। तर, यति गम्भीर आरोप लाग्दासमेत उहाँले न पार्टी अध्यक्षबाट राजीनामा दिनुभएको छ, न संसदीय दलको नेताबाट । उल्टो अझै पनि आदर्श र नैतिकताको पाठ पढाउँदै हिँड्नु भएको छ ।
नैतिकताको प्रवचन दिने नेता नै नैतिक हीन क्रियाकलापमा
माधवकुमार नेपाल लामो समयदेखि नेकपा एमालेभित्रको आफूलाई ‘सिद्धान्त पक्षधर’, ‘नैतिक मूल्य मान्यता’ भएको नेताको रूपमा आफूलाई परिभाषित गर्नु हुन्थ्यो । तत्कालीन एमाले फुटेर समाजवादी गठन गर्दा उहाँले ‘भ्रष्टाचारविरुद्धको राजनीति’, ‘आदर्शको राजनीतिमा फर्कने’ जस्ता नारालाई प्रमुख बनाउनु भएको थियो।
तर आज उही नेता आफ्नै जीवनकालकै सबैभन्दा ठुलो आरोपको घेरामा हुनु आफैँमा विडम्बनापूर्ण छ।
सार्वजनिक जीवनमा ‘हामी फरक छौँ, हामी भिन्न छौँ’ भन्ने भाषण दिन सहज छ। तर, सत्ता, पहुँच र शक्तिको प्रयोग गरेर आफ्नो निकटस्थलाई लाभ पुग्ने गरी निर्णय लिने कुरा नेपाल खप्पिस भएको देखिएको छ ।
नेपालप्रति आरोप प्रमाणित नभए पनि त्यसको नैतिक–राजनीतिक मूल्याङ्कन भने चर्को रूपमा भइरहेको छ। सांसद पद निलम्बनमा परेपछि पार्टी नेतृत्व पनि छोड्ने प्रश्न स्वतः उठ्छ। तर, उल्टो अरूलाई आदर्शको पाठ पढाउनुले माधवकुमार नेपालजस्ता पुराना नेताहरू अझै ‘अहँ’को जेलमा छन् भन्ने देखिन्छ।
उपमहासचिव मेटमणि चौधरी पनि आरोपको घेरामा
एकीकृत समाजवादीका अर्का नेता, उपमहासचिव तथा प्रमुख सचेतक मेटमणि चौधरी पनि अहिले ठगी र चेक अनादर सम्बन्धी आरोपमा प्रहरीको अनुसन्धानको घेरामा छन्।
दाङस्थित प्रहरी कार्यालयमा चौधरीविरुद्ध ठगी र बैङ्किङ कसुर अन्तर्गतको उजुरी परेपछि अनुसन्धान अघि बढेको हो। उजुरीमा चौधरीले करिब ५ करोड ४० लाख रुपैयाँ ठगी गरेको आरोप छ।
यो मुद्दा कुनै सानो आपसी विवादको परिणाम मात्र होइन । राज्य संरचनामै बसेका जनप्रतिनिधिद्वारा कानुनको गलत प्रयोग भएको गम्भीर आशङ्कासहित आएको हो।
अहिलेसम्म उहाँमाथि औपचारिक मुद्दा दर्ता भइसकेको छैन, तर प्रारम्भिक अनुसन्धानको क्रममा नाम जोडिनु नै गम्भीर विषय हो। विशेषतः जुन नेता अरूलाई सत्तोसराप गर्न पछाडि पर्दैनन्, ‘सिद्धान्त’ र ‘शुद्धता’को उपदेश दिन सिपालु छन्, ती स्वयं यस्ता आरोपमा मुछिनु दोहोरो चरित्रको ज्वलन्त उदाहरण हो।
सुशासनको कुरा गर्ने नेता नै अनुशासनहीन
सार्वजनिक जीवनमा राजनीतिक नेताहरूले ‘नैतिकता’को कुरा गर्दा त्यसमा केही राजनीतिक नाटकपन लुकेको हुन्छ भन्ने धेरैको बुझाइ छ। तर, जब राजनीतिक नेतृत्व भ्रष्टाचार, अनियमितता र ठगीजस्ता आपराधिक क्रियाकलापमा प्रत्यक्ष संलग्न देखिन्छ, त्यसले समाजको लोकतान्त्रिक भरोसामा गम्भीर असर गर्छ।
आज देशमा ‘विकल्पको राजनीति’ को चर्चा धेरै छ। नयाँ पुस्ताले पुराना नेताहरूलाई अविश्वास गर्न थालेका छन्। यस्तो अवस्थामा आफूलाई ‘सफा’ भन्नेहरूले यस्तो नकारात्मक उदाहरण राख्नुले त्यो अविश्वासलाई अझै गहिरो बनाउँछ।
कानुनी, नैतिक र राजनीतिक सन्दर्भहरू
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निलम्बन नेपालको संविधान, अख्तियार ऐन र प्रतिनिधि सभा नियमावली अनुसार भएको हो। जब सार्वजनिक पदमा बसेका व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता हुन्छ, त्यसले उहाँको हैसियत स्वतः निलम्बनमा पुर्याउँछ।
तर, नेपालको कानुनमा नैतिक जिम्मेवारी भने नैतिकतामा आधारित छ, बाध्यकारी कानुनी प्रावधान होइन। यही कारण नेताहरू आरोप लागे पनि पद छोड्दैनन् । जबसम्म अदालतको फैसला हुँदैन तबसम्म उनीहरू पदमा बसिरहन्छन् ।
राजनीतिक संस्कृति नै यस्तो छ कि आरोप लागेपछि माफी माग्ने, छानबिनका लागि पद छोड्ने परम्परा हुर्कन सकेको छैन।
अहिले देश संकटमा छ। देशमा नैतिक सङ्कट छ । देशको आर्थिक अवस्था जर्जर छ, जनतामा निराशा छ, युवाहरू वैदेशिक रोजगारीतर्फ पलायन भइरहेका छन्, तर राजनीतिक नेताहरू भने पुरानै प्रवृत्तिमा रमाइरहेका छन्।
आफ्नो छविलाई जोगाउन सार्वजनिक भाषणमा नैतिकता घोकिने र घोकाइ रहने तर व्यवहारमा भ्रष्ट अभ्यास अङ्गाल्ने यस्ता नेताबाट अब जनताले केही आस राख्न सक्ने स्थिति छैन। राजनीतिमा सार्वजनिक विश्वसनीयता खस्केको छ । यसको कारण यस्तै पात्रहरू हुन् ।
प्रतिक्रिया दिनुहोस्