जनता टाइम्स

५ असार २०८२, बिहीबार २१:१३

कम्बोडियाका पूर्वनेतासँगको फोन वार्ता लिक भएपछि थाई प्रधानमन्त्री सङ्कटमा


काठमाडौं, ५ असार । कम्बोडियाका पूर्वनेता हुन सेनसँगको फोन वार्ता चुहावट भएपछि थाइल्यान्डकी प्रधानमन्त्री पेतोङतार्न शिनावात्रा सङ्कटमा पर्नुभएको छ । कम्बोडियाका पूर्वनेता सेनसँग गरेको सीमा विवादबारेको कुराकानी सार्वजनिक भएपछि शिनावात्रा नेतृत्वको गठबन्धन सरकार पतनको सङ्घारमा पुगेको बीबीसीले जनाएको छ । फोन वार्ता चुहावटका कारण नागरिकमा आक्रोश बढेपछि ३८ वर्षीया प्रधानमन्त्री शिनावात्राको पिउ थाई पार्टीको प्रमुख गठबन्धन साझेदारले राजीनामा दिने घोषणा गरेका छन् । उहाँले थाई सेनाको उत्तरपूर्वी कमान्डरलाई आफ्नो प्रतिद्वन्द्वीका रूपमा उल्लेख गरेको र हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको कुराकानीले नागरिकमा आक्रोश निम्तिएको खबरमा उल्लेख छ । थाई प्रधानमन्त्रीले कम्बोडियाली नेतासँगको आफ्नो कुराकानी चुहावट भएकोमा माफी माग्नुभएको छ ।

यसैबीच पेतोङतार्नको गठबन्धन सरकारमा दोस्रो ठूलो दल भुमजाइथाईले गठबन्धन छाडेपछि पिउ थाई पार्टीलाई ठूलो धक्का पुगेको छ । पेतोङतार्नको गठबन्धनसँग अहिले झिनो बहुमत छ । गठबन्धनका थप साझेदारले सरकार छोड्ने निर्णय लिए उहाँले बहुमत गुमाउने सम्भावना छ । अन्य दुई गठबन्धन साझेदारले यस विषयमा छलफल गर्ने बताएका खबरमा उल्लेख छ ।

आलोचकहरूले थाई प्रधानमन्त्रीले हुन सेनलाई काका भनेर सम्बोधन गर्नु र उहाँको माग पूरा गर्ने वाचा गर्नु आपत्तिजनक रहेको बताएका छन् । उनीहरूले पेतोङतार्नले राजनीतिक रूपमा देशको प्रभावशाली सेनालाई कमजोर पार्न खोजेको आरोप लगाएका छन् । हुन सेनले अडियो क्लिप ८० नेतालाई दिएको र तीमध्ये एक जनाले चुहाएको बताउनुभएको छ ।