जनता टाइम्स

१७ जेष्ठ २०८१, बिहीबार १६:२५

गृहमन्त्रीको फेसबुक निर्देशनकै भरमा नागरिकलाई सडकमा उभ्याउन मिल्दैन : सभापति खतिवडा


काठमाडौं, १७ जेठ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मापसे गर्यो यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको भएको टिप्पणी गर्नुभएको छ । सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानूनी राज्य कसैको सनकका भरमा नचल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले संविधान निर्माण गर्यौं । सबै जात, धर्म र वर्गको अधिकार पनि स्थापित गरेका छौं । कानुनी राज्यको परिकल्पना पनि गरेका छौं । कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन ।’ अहिले सडकमा केही मान्छेहरूलाई कुनै मन्त्रीको निर्देशनमा कुनै उपप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका ठिंग्याएर कानूनबिना राख्ने प्रवृत्ति गलत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मापसे गर्यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको हनन हो । यो बारेमा छलफल अगाडि बढाउनुपर्ने जरुरी हामीले देखेका छौं । अहिले कानूनी राज्य भनेको राणा शासन होइन । फेसबुकबाट निर्देशन दिने अनि कानून विपरीत नागरिकलाई सडकमा उभ्याउने काम गलत छ । यो पद्धतिविरुद्ध हामीले आवाज उठाउनुपर्नेछ । हामी यसबारेमा बैठक राख्छौँ ।’

गृहमन्त्री लामिछानेको निर्देशनमा मापसे गरेका र सडक नियम मिचेकाहरूलाई कारबाही स्वरूप ट्राफिक स्वयमसेवकका रूपमा परिचालन गर्न निर्देशन दिनुभएको थियो ।