जनता टाइम्स

३० जेष्ठ २०८१, बुधबार १३:४२

सभामुख र युएईका राजदूतबीच शिष्टाचार भेट


काठमाडौं, ३० जेठ । सभामुख देवराज घिमिरेसँग संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गर्नुभएको छ । आज बिहान भएको भेटमा सभामुख घिमिरेले ठूलो संख्यामा नेपाली जनता युएईमा रोजगारीमा रहेकाले रोजगार तथा जीवन सुरक्षालाई विशेष ध्यान दिन अपिल गर्नुभएको छ । युएईमा मात्रै करिब ४ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् ।

उहाँले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले युएईले स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र नवप्रवर्तन लगायतका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिका लागि बधाई दिनुभयो । ‘युएई राज्य स्थापना भएको केही दशकमै गरेको बृहत्तर प्रगति र समृद्धिका लागि युएईको दुरदर्शी नेतृत्वको प्रशंसा गर्दछु,’ उहाँले भन्नुभयो ।

सभामुखले हालै काठमाडौंमा सम्पन्न तेस्रो नेपाल लगानी शिखर सम्मेलनमा सहभागी भएकोमा युएईलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपालबाट अलैंची, चिया लगायतका कृषिजन्य उत्पादन निर्यातको प्रचुर सम्भावना रहेको बताउँदै आवश्यक सहजिकरणको अपिल गर्नुभयो । युएईका राजदूत अलसाम्सीले युएईको संघीय राष्ट्रिय काउन्सिलका सभामुखले निकट भविष्यमा नै नेपाल भ्रमण गर्ने जानकारी गराउनुभयो ।

उहाँले गत वर्ष नै भ्रमण तय भए पनि निर्वाचनका कारण भ्रमण पछि सरेको उल्लेख गर्नुभयो । अलसाम्सीले दुई मुलुकबीच भएका सहमति कार्यान्वयन गर्न नेपाल सरकार र संघीय संसदको भूमिका अपेक्षित रहेको बताउनुभयो । उहाँले युएई निर्माणका लागि नेपाली नागरिकले दिएको योगदानलाई आफ्नो मुलुकले सदा स्मरण गर्ने समेत उल्लेख गर्नुभयो ।