जनता टाइम्स

३१ जेष्ठ २०८१, बिहीबार ०९:५०

बिशेष कार्यक्रम गरी आइएमईले मनायो २४ औँ वार्षिकोत्सव


काठमाडौं, जेठ ३१ । नेपाली रेमिटेन्सको पर्यायवाची बन्न सफल भएको आइएमई स्थापनाको २३ वर्ष पूरा भएको छ । २४ औँ वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठुलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित हुन पनि सफल भएको छ ।

आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सवका अवसरमा आइएमई लिमिटेडले बुधवार काठमाडौँमा विशेष कार्यक्रममा आयोजना गर्यो । ‘डिजिटल रुपान्तरणलाई अँगाल्दै’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई ग्रुपका सह संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गर्न पुर्याउने कम्पनीको रूपमा आइएमईले योगदान गरिरहेको जानकारी दिनुभयो ।

प्रबन्ध निर्देशक ढकालले रेमिटेन्स सेवा रकमको औपचारिक आदान प्रदानमा सीमित नरही नागरिकको शिक्षा, स्वास्थ्यलगायतका गुणस्तरीय जीवन यापनको माध्यम बन्नुका साथै राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको पनि बताउनु भयो ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सन्देशमार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता जनाउनु भयो । अध्यक्ष ढकालले २४ वर्षको यात्रामा निरन्तर सहयोग गर्ने सेवाग्राहीहरू, नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभचिन्तकहरूमा आभार पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायहरूलाई थप विविधीकरण गर्दै लगानी बिस्तार गर्ने बताउनु भयो ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । प्रविधिमा भएको विकासलाई आत्मसाथ गर्दै विविधिकृत सेवाहरूको मध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिँदै अघि बढ्ने अठोटसमेत प्रमुख कार्यकारी अधिकृत पौडेलले गर्नुभएको छ ।

कार्यक्रममा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उप विजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीहरूका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत आइएमईले विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ । आइएमईले सामाजिक उत्तरदायित्वमा समेत बिशेष ध्यान दिएको छ ।