काठमाडौं, जेठ ३१ । शिक्षामन्त्री सुमना श्रेष्ठले नेपाली कांग्रेसका सांसद राजन केसी र स्वतन्त्र सांसद योगेन्द्र मण्डलले बुधवारको प्रतिनिधिसभा बैठकमा दिनुभएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनु भएको छ ।
महिलामाथि बिभेद गर्दै दुवै सांसदले अभिब्यक्ति दिएपछि सुमनाले प्रतिवाद गर्नुभएको हो । कांग्रेस सांसद केसीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले धेरै बजेट आफ्नै गृहजिल्ला सुनसरीमा लगेको आरोप लगाउनु भएको थियो ।
‘महिला (मन्त्रालय) को सम्बन्धमा अन्याय भएको छ । सत्तापक्षको माननीयले पनि केही भन्नुहोला । म त बजेटमा सुनसरी मात्रै देख्छु । उहाँले १ अर्ब ६० करोडको बजेट पाउनुभएको रहेछ,’ सांसद केसीको भनाइ थियो । आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सांसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र सङ्कीर्ण सोच भएको हुने भन्ने कूतार्किक अभिव्यक्ति दिएको शिक्षामन्त्री श्रेष्ठको भनाई छ । उहाँले केसीले इफ बट नभनी माफी माग्नुपर्ने धारणासमेत राख्नुभयो ।
यस्तै स्वतन्त्र सांसद मण्डलले वैवाहिक बलात्कार जस्तो जघन्य अपराधकाबारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’ को रूपमा चित्रण गरेको भन्दै मन्त्री श्रेष्ठले आपत्ति जनाउनु भयो । ‘समाजका संवेदनशील विषयमा अगुवा भनिएकाबाटै हुने यस्ता गैरजिम्मेवार र ‘हल्का’ टिप्पणीले समाजलाई कुन दिशामा लग्छ भन्ने विचार गर्न जरुरी छ,’ मन्त्री श्रेष्ठले भन्नुभएको छ, ‘उहाँहरूको टिप्पणीले मलाई स्तब्ध बनाएको छ । उहाँहरूको कुतर्कप्रति मेरो घोर आपत्ति छ ।’
समाजको चेतनास्तर यो अवस्थामा हुनुको केही दोष देशको शिक्षा प्रणालीलाई पनि जाने उहाँले बताउनु भयो । ‘शिक्षित हुनुको अर्थ कक्षा उत्तीर्ण हुनु, गुणनका तालिका कण्ठ गर्नु र प्रमाणपत्र पाउनु मात्र होइन । शिक्षित हुनुको अर्थ जान्नु पनि हो–समाजको विविधता र पहिचानको विविधतालाई सम्मान गर्न जान्नु, के बोल्नुहुन्न र कस्तो मान्छे बन्नुहुन्न भनेर जान्नु पनि हो । असल मानिस र जिम्मेवार नागरिक हुनु हो शिक्षित हुनु भनेको,’ मन्त्री श्रेष्ठले भन्नुभएको छ ।
सांसद केसी र मण्डलले सदनमा सांसद सामुन्ने भएको बजेट छलफलमा निर्धक्कका साथ स्त्रीद्वेषी टिप्पणी राखेको भन्दै कुनै पनि व्यक्तिलाई उचित ज्ञान दिनका लागि सम्पूर्ण समाज नै लाग्नुपर्ने श्रेष्ठले बताउनु भएको छ । उहाँले सांसद केसी र मण्डलका अभिव्यक्तिलाई अब के गर्ने भन्दै प्रश्न पनि उठाउनु भएको छ ।
‘रेकर्डमै राखेर भावी पुस्तालाई नेपालको इतिहासमा कुन तहसम्म ओर्लिएर स्त्रीद्वेषी हुन सक्छ भन्ने दस्तावेज बनाउने र पदले मात्र कोही माननीय बन्दैन भन्ने उदाहरण दिने वा रेकर्डबाट हटाएर हाम्रो “सभ्य” सदनको ढोंगलाई निरन्तरता दिने ?’ मन्त्री श्रेष्ठले सोध्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्