काठमाडौं, जेठ ३१ । स्थानीय सरकारले शिक्षामन्त्री सुमना श्रेष्ठले अघि सारेको शिक्षक सरुवा सम्बन्धी निर्देशिका कार्यान्वयन नगर्ने घोषणा गरेका छन ।
नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि राष्ट्रिय मन्त्रालयबाट यही जेठ १३ गते जारी भएको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ कार्यान्वयन नगर्ने घोषणा गरेको हो ।
नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले शिक्षामन्त्री श्रेष्ठलाई बुधबार पत्र पठाएरै उक्त निर्देशिका संविधानको मर्म र विद्यमान शिक्षा ऐनको प्रतिकूल भएकाले कार्यान्वयन नगर्ने भन्दै खारेज गर्नुपर्ने बटमलाइन सुनाएका छन ।
नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगना र गाउँपालिका राष्ट्रिय महाससंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संयुक्त हस्ताक्षर गरी पठाउनु भएको पत्रमा शिक्षा मन्त्रालयको निर्देशिक नमान्ने निर्णय सुनाउँदै स्थानीय गाउँ/नगरपालिका सभाबाट पारित स्थानीय शिक्षा ऐन कार्यान्वयन गर्न सबै पालिकालाई आग्रह गरिएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले पनि जेठ २९ गते भेला गरी निर्देशिकामा असहमति जनाएको थियो । महासंघ अध्यक्ष गुणराज मोक्तानले शिक्षा मन्त्रालयको निदैशिकाबाट सामुदायिक विद्यालय सञ्चालन तथा गुणस्तर कायममा बाधा पुग्ने भएको कारण कार्यान्वयन गर्न नसकिने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्