पोखरा, जेठ ३२ । पद र पैसाका लागि बिचारलाई तिलाञ्जली दिएर निर्वाचित पार्टीको आदेशबिपरित चल्दा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाको सांसद पद गुमेको छ ।
‘फ्लोर क्रस’ गरेर नेपाली कांग्रेसका नेतासमेत रहनु भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएर ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानीमन्त्री बन्नुभएका देवकोटा सांसदबाट पदमुक्त हुनुभएको हो । मुख्यमन्त्री पाण्डेसँग ब्यक्तिगत डिल गरी देवकोटाले मत दिनुभएको थियो । आर्थिक डिलका आधारमा पाण्डे सरकारलाई समर्थन गरी मत दिनुभएका नेकपा माओवादीबाट निर्वाचित सांसद देवकोटा आज सांसदबाट पदमुक्त हुनुभएको हो ।
माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयले देवकोटालाई प्रदेशसभा सदस्यबाट निस्काशन गरी दल त्याग गरेको सूचना शुक्रबार प्रदेशसभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले वाचन गरी सुनाउनु भएको हो । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको जानकारी सहितको पत्र शुक्रबार नै संसद् सचिवालयमा बुझाउनु भएको थियो ।
शुक्रबार प्रदेशसभाको दोस्रो बैठकमा सभामुख धितालले माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ अन्तर्गत दल त्याग गरेको सूचना प्राप्त हुन आएको संसद्मा जानकारी गराउनु भयो ।
‘प्राप्त सूचनाअनुसार ०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ अन्तर्गत गोरखा २ (ख) बाट माओवादी केन्द्रको एकल चुनाव चिह्न गोलाकारभित्रको हँसिया–हथौडा तथा दलका अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको उम्मेदवारको आधिकारिक पत्र प्राप्त गरी निर्वाचनमा उम्मेदवार भइ देवकोटा निर्वाचित भइ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको सदस्य रहेकोमा नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा गण्डकी प्रदेशसभा नियमावली २०८० प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई प्रदेशसभा सदस्य पदबाट निस्काशन गरी दल त्याग गरेको व्यहोरोको सूचना राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम प्राप्त हुन आएकोले सोही ऐनको दफा ३५ र गण्डकी प्रदेशसभा नियमावली २०८० को नियम २०७ समेतको कानुनी व्यवस्थाअनुसार सभासमक्ष जानकारी गराउँदछु,’ सभामा सभामुखले भन्नुभयो ।
माओवादी केन्द्रले जेठ २८ मा मुख्यमन्त्री पाण्डेको पक्षमा विश्वासको मत नदिन ‘ह्वीप’ जारी गरेको थियो । उहाँले ‘ह्वीप’ उल्लंघन गरेपछि माओवादी प्रमुख सचेतक सुशीला सिंखडाले कारबाहीको लागि सिफारिस गर्नुभएको थियो । देवकोटाले आफू माओवादी केन्द्रको चुनाव चिह्नबाट लडे पनि नेपाल समाजवादी पार्टीको कार्यकर्ता रहेकोले ‘ह्वीप’ नलाग्ने र माओवादीले कारबाही गर्न नमिल्ने बताउँदै आउनु भएको थियो ।
प्रदेशसभा सचिवालयको वेबसाइट, निर्वाचन आयोगमा आफू नेसपाकै सांसदका रुपमा रहेको उहाँको तर्क छ । नेसपाको केन्द्र र प्रदेश समितिको निर्णयअनुसार मुख्यमन्त्री पाण्डेलाई मत दिएको उहाँले बताए पनि कानूनले छुट नदिएको हो ।
प्रतिक्रिया दिनुहोस्