जनता टाइम्स

८ असार २०८१, शनिबार ११:५२

पालिकाहरूले स्थानीय उत्पादनको बजारीकरणमुखी बजेट ल्याउनुपर्छ : नेता गौतम


काठमाडौं, ८ असार । नेपाल तरुण दलका केन्द्रीय सदस्य भीमकुमार गौतमले स्थानीय पालिकाहरूले बजेट ल्याउने तयारी गरिरहँदा स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन हुने खालको बजेट ल्याउन सुझाव दिनुभएको छ । ओखलढुंगाका विभिन्न पालिकाका प्रतिनिधिहरूसँगको भेटमा गौतमले उक्त सुझाव दिनुभएको हो । स्थानीय उत्पादनको बजारीकरण गर्न सके पालिकाभित्रका जनताको जनजीवन सुध्रिने र पालिकाले सहजै समृद्धि हासिल गर्न सक्ने उहाँको भनाइ छ ।

‘स्थानीय उत्पादनको बजारीकरण हुँदा कृषकले राम्रो आम्दानी गर्छन्। उनीहरूले पालिकालाई कर तिर्छ । पालिकाका विभिन्न सेवा सुविधा उपभोग गर्न सक्ने हैसियत निर्माण हुन्छ । यसले एक पक्षलाई मात्र नभएर सबैलाई फाइँदा पुर्याउँछ,’ उहाँले भन्नुभयो । स्थानीय पालिकाले ठूला बाटाघाटाको चिन्ता गर्नुभन्दा जनजीविकासँग जोडिएका विषयमा गम्भीर हुन सुझाएका छन् । ‘कृषकका लागि कुलो, आधुनिक प्रकृतिका औजारमा स्थानीय पालिकाले जनतालाई सहुलियत दिनुपर्छ। ठूला योजना त प्रदेश र केन्द्र सरकारले गरिहाल्छन्,’ उहाँले भन्नुभयो ।

त्यसरी उत्पादन भएका बस्तुको बजारीकरणका लागि अन्य पालिका र निकायसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ । ‘कतिपय कच्चा पदार्थको रूपमा बजारीकरण गर्नुपर्ने र कतिपय तयारी बस्तुको बजारीकरण गर्नुपर्ने हुन्छ। यी सबै क्षेत्रको अध्ययन गरेर पालिकाहरूले रणनीति अवलम्बन गर्नुपर्छ,’ उहाँले भन्नुभयो । त्यसका अलावा स्थानीय तहमा भएका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न सकेमा पनि राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो ।