काठमाडौं, असार ४ । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले पार्टीको आगामी नेतृत्वको विषयमा भइरहेको बहशमा मुख खोल्नुभएको छ । एमाले जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको बिस्तारित बैठकमा बोल्दै पौडेलले पार्टीको आगामी नतृत्वको बिषयमा पहिलो पटक मुख खोल्नुभएको हो ।
उपाध्यक्ष पौडेलले नेकपा एमालेमा अहिले देखिएका समस्या र नेतृत्वको बहशलाई सहज ढंगबाट समाधान गर्न नेतृत्व सक्षम रहेको पनि प्रष्ट पार्नुभयो । समकालिन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको भन्दै उहाँले काबूबाहिरको समस्या एमालेभित्र नरहेकोले चिन्ता नलिन पार्टीका नेता–कार्यकर्ताहरुलाई सुझाउनु भयो । यस पार्टीमा देखिएका समाधानका लागि कसैको सहयोग नचाहिने पनि उहाँले स्पष्ट पार्नुभयो ।
‘एमालेभित्र अहिले भइरहेको बहश र बिषय उठानका कुराका लागि छलफल गरी समाधानदिन पर्याप्त समय छ । हामी बिधान महाधिवेशनको मुखमा छौं, बिधानकै कुरा गरौं, नेतृत्व चयनको बिषय बिधान महाधिवेशनपछि गरौंला,’ उपाध्यक्ष पौडेलले भन्नुभयो । उहाँले नीति बनाउने महाधिवेशनमा नेतृत्वको कुरा गरेर ओझेलमा पार्ने र कार्यकर्तादेखि पार्टी पङ्तीलाई दिग्भ्रमित पार्ने काम कसैले गर्न नहुने बताउनु भयो ।
पौडेलले पार्टीमा कँहीकतै समस्या हुनै नपर्ने भएपनि अहिले कतैपनि सग्लो एमाले नभेटिने गरेको किन भन्ने प्रश्न गर्नुभयो । ‘कतैपनि सग्लो पार्टी भेटिदैन । दशौं महाधिवेशनपछि पार्टीमा समस्या हुनुपर्ने कुनै कारण छैन । धोएको मुला जस्तो, गंगाजल जस्तो पार्टी हुनुपर्ने हो तर भेटिदैन’ उपाध्यक्ष पौेडेलले भन्नुभयो, ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छन, तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।’ एमालेमा केही केही समस्या भए पनि तिनलाई नीति र विधीको माध्यमबाट समाधान गरिने पनि उहाँले बताउनुभयो ।
उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिदै गरेकोले त्यसको तयारीमा पार्टी लागिरहेको जानकारी दिनुभयो । भदौको तेस्रो साता हुने विधान महाधिवेशनले १० औं राष्ट्रिय महाधिवेशनपछि पार्टीले बैधानिक रुपमा सच्याउनु पर्ने, कार्यन्वयन गर्न भएका अफ्ठ्यारालाई सहज बनाउन विधान महाधिवेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
‘विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशनदेखि हालसम्म पार्टी संगठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रुपमा नै सुधार गर्ने विधी तय गर्नेछौं’ उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘केन्द्रीय कमिटीले विधानमा संसोधन गर्नुपर्ने विषयहरु प्रस्ताव गर्दछ । यी विषयहरु हामी महाधिवेशन प्रतिनिधीलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौं । ’
उहाँले विधान महाधिवेशन नै नभइ पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न उहाँले जनसंगठनलाई निर्देशन दिनुभएको छ । ‘विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं’ पौडेलले भन्नुभयो ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौंला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।’
उपाध्यक्ष पौडेलले पार्टी र जनसंगठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताउनुभयो । ‘एमालेमा कुनै बेला सिटी फुकेको भरमा हजारौं मानिस सडकमा आउथे । अहिले किन मानिसहरु शिथिल भएका छन ?’ उपाध्यक्ष पौडेलले प्रश्न गर्नुभयो, ‘आम जनतामा उर्जा भर्न र जनताको बीचमा जान पार्टीका महत्वपूर्ण अंग जनसंगठन नै हुन । उनीहरुले यो भूमिका निवार्ह गर्नुपर्दछ । ’
उपाध्यक्ष पौडेलले पार्टी निर्माणमा जनसंगठनको शसक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले २०४६/०४७ सालका जनसंगठन, २०६२/०६३ सालका जनसंगठन धेरै शसक्त भएको स्मरण गर्दै उहाँले वर्तमान अवस्थामा जनसंगठन पनि सुुस्ताएको बताउनुभयो ।
‘जनसंगठन पार्टीको ब्याड हो । यहाँ रोपेका विरुवा हुर्किएपछि पार्टीमा सारिन्छ,’ उहाँले भन्नुभयो ‘त्यसैले मुलरुपमा पार्टीको सम्पर्कमा नयाँ मानिसहरुलाई ल्याउने काम जनसंगठनको नै हो । तर अहिले कतिपय जनसंगठनले पार्टीकै कार्यकर्ता लगेर संगठित गर्ने अनि फेरी पार्टीमै फर्काइदिने गरेका छन । यसले संगठन र पार्टीको बिस्तार हुदैन ।’
यसअघि बैठकमा जनसंगठन समन्वय संयन्त्रका इञ्चार्जहरुले बैठकमा रिर्पोटिङ गर्नुभएको थियो । संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा भएको बैठकमा जनसंगठनका निवर्तमान अध्यक्ष, अध्यक्ष र इञ्चार्जहरु सहभागी रहेका छन ।
प्रतिक्रिया दिनुहोस्