काठमाडौं, असार ४ गते । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता, पूर्व मन्त्री र समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिने शोक कार्यक्रम घोषणा गरेको छ।
आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो। ८९ वर्षीय शास्त्रीको असार २ गते काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो। विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएका उहाँले प्रजातन्त्र पुनर्स्थापनाको संघर्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले लामो समय जेल जीवन बिताउनुका साथै भारत प्रवासमा पनि रहनुभएको थियो।
विसं। १९९३ साल जेठ २५ गते अर्घाखाँची जिल्लाको किमडाँडामा जन्मनुभएका शास्त्री नेपाली कांग्रेसको केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा मन्त्रीसमेत भइसक्नुभएको थियो। नेपाली कांग्रेसले स्व शास्त्रीलाई ‘जननायक बिपी कोइरालाका अनुयायी’, ‘समाजवादी चिन्तक’ र ‘प्रजातान्त्रिक समाजवादका व्याख्याता’को रूपमा उल्लेख गरेको छ।
शोक प्रस्तावमा भनिएको छ, ‘शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेस उच्च सम्मान प्रकट गर्दछ।’ उहाँको निधनले पार्टीले एक बुद्धिजीवी, अग्रज र अनुभवी नेताको अभाव महसुस गरेको पनि बैठकले उल्लेख गरेको छ।
पार्टीको संगठन निर्माण, समाजवादी विचारको प्रवर्द्धन, र नेतृत्वदायी भूमिकामार्फत उहाँले पुर्याएको योगदान सदा स्मरणीय रहने बैठकको निष्कर्ष रहेको छ। केन्द्रीय कार्यसमितिले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरेको छ। साथै, शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै ईश्वरले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन् भन्ने कामना पनि गरिएको छ।
नेपाली कांग्रेसले शास्त्रीप्रति सम्मान स्वरूप देशभर पार्टी कार्यालयमा तीन दिने शोक कार्यक्रम घोषणा गरेको छ। असार ४, ५ र ६ गतेसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइनेछ। असार ५ गते बिहीबार केन्द्र, प्रदेश र जिल्लाका सबै पार्टी कार्यालयहरू बन्द गरिनेछ।
यसै गरी, शास्त्रीको स्वर्गारोहणपश्चात् १३ दिनसम्म पार्टी कार्यालयहरूमा शोक पुस्तिका राखिनेछ भने १३ औँ दिनमा सम्बन्धित जिल्लामा विशेष शोकसभा आयोजना गरिने नेपाली कांग्रेसले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्