काठमाडौं, असार ९ । सङ्घीय संसद्का कर्मचारीहरूको माग सम्बोधनका विषयमा सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासहित बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।
समितिमा अर्थ मन्त्रालयका सचिव र सङ्घीय संसद्का महासचिव सदस्य रहेका छन । अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसद्का कर्मचारीहरूले आन्दोलन गर्दै आएका थिए । विरोधमा उनीहरुले संसद बैठकमा ‘ब्ल्याक आउट’ गर्दा संसद् बैठक नै प्रभावित हुँदै आएको थियो ।
सोही विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुन, कानुन, न्याय मन्त्री पदम गिरी, मुख्य सचिव डा वैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई बोलाएर छलफल गर्नुभएको थियो ।
बैठकले कानुन मन्त्रीको नेतृत्वमा सहजीकरण समिति गठन गरेको राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्