जनता टाइम्स

२ श्रावण २०८१, बुधबार १६:१७

प्रधानमन्त्री ओलीको पहिलो रोजाईमा वरिष्ठ अधिवक्ता रमेश बडाल, महान्यायाधिवक्ता नियुक्त


काठमाडौं, साउन २ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका नेता एवं वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले वरिष्ठ अधिवक्ता बडाललाई आज महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

बडालले यसअघि पनि प्रधानमन्त्री ओलीकै पालामा महान्यायाधिवक्ताको भूमिका निर्वाह गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना बडाल महान्यायाधिवक्ताको भूमिकामा रहनुभएको थियो ।

सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरुको नेतृत्व गर्छन् । श्रम कानूनका ज्ञाता बडाल लामो समयदेखि एमाले समर्थित श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध रहनुभएको छ । महान्यायाधिवक्ता नियुक्त हुनुअघि बडाल एमालेको कानून र निर्वाचन विभागका प्रमुख हुनुहुन्छ । बडाल नेपाल रेडक्रस सोसाइटीका कानूनी सल्लाहकारसमेत हुनुहुन्छ ।

महान्यायाधिवक्ता पदमा दोहोरिनेमा बडाल तेस्रो व्यक्ति हो । यसअघि मोतीकाजी स्थापित र प्रेमबहादुर विष्ट दुई पटक महान्यायाधिवक्ता बन्नुभएको थियो । अघिल्लो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिशमा नियुक्त हुनुभएका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएपछि राजीनामा दिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले रिक्त भएलगत्तै बडाललाई नियुक्तिका लागि सिफारिश गर्नुभएको हो । ओली नेतृत्वको सरकार बनेपछि सवैभन्दा पहिलो नियुक्ति पाउने बडाल हुनुभएको छ ।