जनता टाइम्स

४ श्रावण २०८१, शुक्रबार २१:००

जनमतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने


काठमाडौं, ४ साउन । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सङ्घीय सरकारका प्रधानमन्त्रीलाई विश्वातको मत दिने निर्णय गरिएको हो ।

जनमतको नेतृत्वमा कांग्रेस, एमाले, लोकतान्त्रिक समाजवादी (लोसपा) सहित मधेस प्रदेश सरकारले बिहीबार पूर्णता पाइसकेको छ ।

‘हाम्रो पार्टीको सुरुदेखिनै प्राथमिकतामा मधेस प्रदेश सरकार थियो । प्रदेशमा जनमतको नेतृत्वलाई कांग्रेस र एमालेले समर्थन गरेकाले सङघीय सरकारलाई समर्थन गरेर जाने पार्टीको स्पष्ट नीति छ’, प्रवक्ता यादवले भन्नुभयो । प्रतिनिधिसभामा जनमत पार्टीका छ सांसद हुनुहुन्छ । प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिनुहुने कार्यक्रम छ ।