काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतीको बाटो समात्ने बिश्वास ब्यक्त गर्नुभएको छ ।
आइतबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै देउवाले प्रधानमन्त्री ओली मिहिनेती, अध्ययनशील र अनुभवी भएकाले उनको नेतृत्वको सरकारले मुलुकलाई उन्नतीतर्फ लैजाने बताउनु भयो ।
‘सम्माननीय प्रधानमन्त्री अत्यन्त मिहिनेती अध्ययनशील र अनुभवी हुनुहुन्छ, उहाँको मन्त्रिपरिषदमा रहेका साथीहरु योग्य र सक्षम हुनुहुन्छ । उहाँहरुको नेतृत्वमा मुलुकले उन्नतीको बाटो समात्नेछ भन्ने विश्वास लिएको छु,’ देउवाले भन्नुभयो । उहाँले मुलुकको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन स्थिर सरकार आवश्यक परेको जानकारी पनि दिनुभयो ।
राजनीतिलाई स्थिरताको बाटोमा उन्मुख गराउन अहिलेको सरकार गठन भएको भन्दै देउवाले त्यो लक्ष्यमा सरकार सफल हुने बताउनु भयो । यस्तै उहाँले १७ असारमा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति कांग्रेस दृढ रहने भन्दै देउवाले एमाले पनि दृढ रहने विश्वास व्यक्त गर्नुभयो ।
‘असार १७ गते कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयनप्रति कांग्रेस दृढ छ र रहिरहनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्दछु । साथै नेकपा एमाले पनि यस कुरामा दृढ रहनेछ भन्ने कुरामा विश्वस्त छु’, उनले भने ।
पूर्णपाठ
सम्माननीय सभामुख महोदय,
सम्माननीय प्रधानमन्त्री के।पी। शर्मा ओलीज्यूले आज नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव राख्नुभएको छ । आम नेपाली जनताको अपेक्षा स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारीको सिर्जना, भौतिक संरचनाको शीघ्र निर्माण नै हो । हामीले यस दिशामा प्रगति हासिल गर्नाका साथै आज देखिएको निराशा आशामा बदलिने छ ।
वर्तमान सरकारले यो दिशामा तीव्रताका साथ काम अगाडि बढाउँदै जनतामा आशा र भरोसा जागृत गर्ने छ भन्ने मैले विश्वास लिएको छु । देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी छ । आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ ।
वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने छ, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशिल अर्थतन्त्रका माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्ने छ । यसबाट राजश्वमा थप वृद्धि भइ जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिने छ ।
भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ अग्रसर गराउन आवश्यक छ । संविधान प्रारम्भ भएको आठ वर्ष पुरा भएको छ । यसका सवल तथा दुर्वल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो । संविधान संसोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समाबेशीतालाई थप सुदृढ गरिने छ ।
संविधान संसोधन गर्दा नेपालमा क्रियाशिल सबै राजनीतिक दलहरु बीच सम्बाद र सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा सहमति भएको अवगत नै छ । सोही अनुसार नेकपा एमालेका नेता के।पी।शर्मा ओली नेपाली कांग्रेस समेतको समर्थनमा संविधानको धारा ७६ को २ अनुसार असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त भइ विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्तुत हुनु भएको छ ।
सम्माननीय प्रधानमन्त्री के।पी।शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले जनचाहना बमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने नै छ । वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनहरुको निर्माण, लगानीको उचित वातावरण तयार पार्दै आज देखिएको आर्थिक शिथिलतालाई गतिशिल बनाउँदै रोजगारीका थप अवसरहरुको सिर्जना र एउटा चलायमान अर्थतन्त्रको निर्माणमा ठोस योगदान दिने मैले विश्वास लिएको छु ।
सम्माननीय प्रधानमन्त्री अत्यन्त मेहनति, अध्ययनशिल र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रिमण्डलमा रहेका साथीहरु पनि योग्य र सक्षम हुनुहुन्छ । उहाँको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने छ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको वर्तमान सरकार सफल हुने मैले विश्वास लिएको छु । तसर्थ असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिको कार्यान्वयनप्रति नेपाली कांग्रेस दृढ छ, दृढ रहिरहने छ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
साथै नेकपा एमाले पनि यस कुरामा दृढ रहने छ भन्ने कुरामा म पूर्ण रुपले विश्वस्त छु । त्यसैले नेपाली कांग्रेसले सम्माननीय प्रधानमन्त्रीले माग्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्ने छ । साथै अन्य दलहरुलाई सम्माननीय प्र्रधानमन्त्रीज्यूले राख्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्न अपील समेत गर्दछु ।
धन्यवाद १
जय नेपाल १
प्रतिक्रिया दिनुहोस्