जनता टाइम्स

२४ आश्विन २०७६, शुक्रबार ०८:५७

वाह ! कतार निर्यात हुन थाल्यो दोलखाको अकबरे खुर्सानी


दोलखा, असोज २४ । दोलखामा उत्पादन भएको अकबरे खुर्सानी खाडी मुलुक कतार निर्यात हुन थालेको छ। भीमेश्वर नगरपालिका–६ मा रहेको भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले उत्पादन गरेको अकबरे खुर्सानी खाडी मुलुक कतार निर्यात हुन थालेको हो।

भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले उत्पादन गरेको ५८ केजी ताजा अकबरे खुर्सानी अलसमन इन्टरनेसलन प्रालिमार्फत पहिलोपटक खाडी मुलुक कतार निर्यात गरिएको कम्पनीका अध्यक्ष भोला खतिवडाले जानकारी दिनुभयो । खाडी मुलुकमा ताजा अकबरे खुर्सानीको ठूलो माग छ। कतारमा ताजा अर्गानिक तरकारी निर्यात गरिरहेको अलसमन कम्पनीमार्फत दोलखाबाट पहिलो चरणमा अकबरे निर्यात सुरु गरिएको खतिवडाको भनाई छ । बिक्री हेरेर थप माग गर्ने कतारको खरिदकर्ताले जनाएको छ। अकबरेको स्वाद मन पराउने करिब एक लाख नेपाली कतारमा रोजगारीमा छन्।

किवी, एभोकाडो जस्ता फलका बिरुवाले उत्पादन दिन लामो समय लाग्ने भएकाले बिरुवा हुर्कनु अघि खाली रहेको जमिनमा रासायनिक मलको प्रयोग नगरी अकबरे खुर्सानी उत्पादन गरिएको छ। स्थानीय बजारमा प्रतिकेजी तीन सय रुपैयाँभन्दा बढीमा बिक्री हुने अकबरे खुर्सानी बिक्री हुन्छ। आगामी दिनमा सर्वसाधारणले उत्पादन गरेको अकबरे खुर्सानीपनि खरिद गरी निर्यात गर्ने योजना रहेको अध्यक्ष खतिवडाले बताउनुभयो ।

दोलखाका उच्च भूभागबाहेक अन्यत्र प्रायः सबैतिर घरायसी प्रयोजनका लागि खेती गरिने अकबरे खुर्सानीको खेती उच्च पहाडदेखि गर्मी हावापानीमा समेत गर्न सकिन्छ। साविकको कृषि विकास कार्यालयले केही तत्कालीन सार्वजनिक गरेको तथ्यांकअनुसार दोलखा जिल्लामा करिब १० देखि १५ टनसम्म अकबरे खुर्सानीउत्पादन हुने गरेको थियो।

भीमेश्वर नगरपालिका–६ स्थित भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले हाल सय रोपनी क्षेत्रफलमा किवी, एभोकाडो लगायत फलफूल तथा विभिन्न तरकारीको अर्गानिक खेती गरिरहेको छ । रातो भइन्जेल अकबरे खुर्सानी बोटमा राख्दा कीराको संक्रमण बढ्ने तर हरियोमा टिम्दा भने कीराले खासै दुःख नदिने हुन्छ।