जनता टाइम्स

१६ श्रावण २०८१, बुधबार १६:०२

नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्दै रथी सिग्देल, सरकारले दियो कामू प्रधानसेनापतिको जिम्मेवारी


काठमाडौं, साउन १६ । नेपाली सेनाका वरिष्ठ रथी अशोकराज सिग्देल कायममुकायम (कामु) प्रधानसेनापति तोकिनुभएको छ । मन्त्रिपरिषद बैठकले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल आगामी भदौ २४ गते सकिंदैछ । त्यसको एक महिनाअघि विदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो । जन्ममिति विवादमा छानबिन भएपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि सैनिक नेतृत्वमा पुग्ने सिग्देलको बाटो क्लियर भएको हो ।

पाण्डेको राजीनामासँगै सिग्देल प्रधानसेनापतिको रोलक्रममा आउनु भएको थियो । उहाँबारे विवाद आएपछि जंगीअड्डाले आन्तरिक छानबिन गरेर कैफियत नरहेको जनाएको छ । जंगीअड्डामा साउन ३ गते आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता गौरवकुमार केसीले सिग्देलले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट पहिलो पटक लिएको नागरिकता र पछि लिएको ‘प्रथम प्रतिलिपि’मा उमेर, प्रमाण पत्र नम्बर र जारी मिति फरक नपरेको प्रष्ट पार्नुभएको थियो ।

सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गरेको प्रवेशिका परीक्षा (एसएलसी) को प्रमाणपत्र र तत्कालीन सुपिङ बहुमुखी क्याम्पस (हाल सैनिक आवासीय महाविद्यालय) बाट जारी भएको प्रमाणपत्रमा पनि जन्ममिति फरक नपरेको उहाँको भनाइ थियो । योसँगै कामु प्रधानसेनापति सिग्देल भदौ २६ गतेपछि नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्नु हुनेछ । ३७ वर्षअघि सैनिक सेवामा प्रवेश गर्नुभएका सिग्देलले रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर अध्ययन गर्नुभएका छ ।

आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका समेत विद्यार्थी उहाँले जंगी अड्डाको युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको नेतृत्व गरिसक्नु भएको छ । प्रधानसेनापतिको सैनिक सचिवसमेत रहिसकेका सिग्देलले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको नेतृत्व तहमा बसेरसमेत काम गर्नुभएको थियो । संयुक्त राष्ट्र संघको शान्ति मिसनका क्रममा सिग्देलले युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गर्नुभएको छ । उहाँको स्थायी घर रुपन्देहीको भैरहवा हो ।