दाङ, साउन १९ । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा पशुपालनमा लाग्नुभएका घर्तीले साथीभाईसँग मिलेर व्यावसायिक रुपमा पशुपालन गर्दै आउनुभएको छ ।
भैंसीपालन, बङ्गुरपालन र हाँसपालन गर्नुभएका घर्तीले मेहनत गरे गाउँमै पैसा फलाउन सकिन्छ भन्ने गतिलो उदहारण दिनुभएको छ । उहाँको फार्ममा अहिले १८ वटा भैंसी र २५ वटा बङ्गुर रहेका छन । मेहनत गर्नसके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने ‘गोरखा बायो फार्म’ का अध्यक्ष रहनुभएका घर्तीले बताउनु भयो ।
‘भैँसी र बङ्गुरपालन गरेर राम्रै आम्दानी भइरहेको छ,’ घर्तीले भन्नुभयो । घोराही उपमहानगरपालिका–७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिकरुपमा पशुपालन गर्दै आउनुभएका घर्तीले दूध बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी भइरहेको जानकारी दिनुभयो । उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको घर्तीले बताउनुभयो । ‘दूध बिक्री गर्न समस्या छैन । फार्मबाटै विद्यालय र डेरीमा जाने गरेको छ,’ घर्तीले भन्नुभयो ।
उहाँका अनुसार दैनिक ४५ देखि ५० लिटरसम्म दूध बिक्री भइरहेको छ । उहाँले आफ्नो फार्ममा कम्तीमा ४० भैंसी र जर्सी गाईसमेत थप गर्ने योजना बनाउनु भएको छ । बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको उहाँले बताउनु भयो । घर्ती बताउनुहुन्छ ।
दूध प्रतिलिटर रु ७० मा बिक्री हुने गर्दछ । घर्तीका साझेदार खुसीराम चौधरीले भैंसीपालनसँगै मासुका लागि बाख्रा, बङ्गुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको बताउनु भयो । त्यसका लागि थप संरचना निर्माण गर्ने गृहकार्य भइरहेको छ । व्यावसायिक रुपमा दूध र मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब एक करोड ५० लाख रुपैयाँ लगानी भइसकेको चौधरीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्