जनता टाइम्स

२१ श्रावण २०८१, सोमबार १५:३२

बंगलादेशका चर्कियो आरक्षणबिरोधी आन्दोलन, प्रदर्शनकारी निवास छिरेपछि प्रधानमन्त्री हसिनाले छाडिन देश


ढाका, साउन २१ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले ढाकास्थित प्रधानमन्त्री निवास ‘गणभवन’ छाडनुभएको छ ।

आरक्षणविरूद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि सोमबार प्रधानमन्त्री हसिनाले सरकारी निवास छाडेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। हसिना र उहाँकी बहिनीले सुरक्षित ठाउँका लागि गणभवन छाडेका छन,’ स्रोतले एएफपीसँग भन्यो, ‘उहाँले सम्बोधन गर्न चाहनुभएको थियो तर त्यसका लागि अवसर भने पाउनु भएन।’

त्यस्तै प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा छिरेको बंगलादेशको समाचार दैनिक प्रोथोम अलोलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले लेखेको छ। हजारौंको संख्यामा प्रदर्शनकारीहरू सरकारी भवन छिरेको समाचारमा उल्लेख छ।

बंगलादेशका सेना प्रमुख वाकेर–उज–जमनले देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहनु भएको छ ।

बंगलादेशमा विभिन्न जिल्लामा जारी आन्दोलनमा आइतबारमात्रै कम्तिमा ९१ जना मारिएका छन्। प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा एकै दिन ९१ जना मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भुतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको छ। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका छन्।

आइतबार ठूलो संख्यामा हताहती भएपछि सरकारले देशव्यापी अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। साथै इन्टरनेट सेवा पनि बन्द गरिएका छन्। सोमबारसम्म सबै सरकारी कार्यालयहरूमा पनि बिदा दिइएको छ। प्रधानमन्त्री शेख हसिना हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरू विद्यार्थी नभई आतंककारी रहेको बताउनु भएको छ । प्रदर्शनकारीले निवास कब्जा गरेपछि प्रधानमन्त्री हसिना राजीनामा दिएर हेलिकोप्टर चढेर भारतको शरणमा जानुभएको बताइएको छ ।