जनता टाइम्स

२८ श्रावण २०८१, सोमबार २१:२१

रक्षामन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण


काठमाडौं, २८ साउन । रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको बताउनुभएको छ । आज सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा उहाँले संविधानप्रदत्त जिम्मेवारी एवं अन्य चुनौतीपूर्ण कार्य निर्वाह गर्न भविष्यमा पनि सेना सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

रक्षामन्त्री राईले भन्नुभयो,‘नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका हुन्छ । उच्च हौसलासहित कर्तव्यपथमा समर्पित भई काम गर्नुस् ।’ रक्षा सचिव रामेश्वर दङ्गालले सेनालाई आवश्यक पर्ने नीतिगत, प्रक्रियागत, बजेटलगायत विषयमा सहयोग एवम् सहजीकरणको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

सो अवसरमा कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देलले सेनाका मूल्य र मान्यतालाई अझ मजबुत र संस्थागत गर्नेतर्फ आफ्नो निरन्तर पहल रहने बताउनुभयो । उहाँले भन्नुभयो,‘सेनाको कार्यजिम्मेवारी क्षमता थप अभिवृद्धि गर्न मन्त्रालयबाट प्राप्त साथ, सहयोगप्रति आभारी छौँ ।’ त्यस अवसरमा रथीवृन्दका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृत सहभागी रहनुभएको थियो ।