जनता टाइम्स

३२ श्रावण २०८१, शुक्रबार १९:३०

हेटौँडा अस्पताल प्रशासनको कार्यकक्षमा तालाबन्दी


हेटौँडा, ३२ साउन । हेटौंडा अस्पतालमा आज अस्पतालका पुराना कर्मचारीहरूले प्रशासन प्रमुख र निमित्त अस्पताल निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । निमित्त अस्पताल निर्देशक श्रीधर आर्यालका अनुसार, बिहीबार अस्पतालले अन्तरवार्तामा सफल उम्मेदवारहरूको नामावली प्रकाशन गरेको थियो। सोही नतिजाप्रति असन्तुष्ट भन्दै एक समूहले शुक्रवार तालाबन्दी गरेको हो ।

तालाबन्दी गर्नेमा अस्पतालका पुराना कर्मचारी जयराम राईमाझी लगायत ६र७ जना रहेको निर्देशक आर्यालले जानकारी दिनुभयो । राईमाझीले भन्नुभयो आफूहरूलाई नियोजित रूपमा अस्पतालबाट निकाल्न खोजिएको आरोप लगाउनुभएको छ । उहाँले नयाँ कर्मचारी भर्नाका लागि भएको अन्तरवार्ता पछि प्रकाशित नतिजाप्रति असन्तुष्ट रहेको बताउनुभयो । राईमाझीका अनुसार उनीहरू साढे दुई वर्षदेखि अस्पतालमा कार्यरत छन् ।

‘अहिले आएर नयाँ कर्मचारी भर्ना भन्दै अन्तरवार्ताबाट नियोजित रूपमा हामीलाई हटाउने काम भएको छ,’ उहाँले भन्नुभयो । उहाँको माग छ कि सूचना सच्याइनुपर्छ र हाल काम गरिरहेका कर्मचारीहरूलाई प्राथमिकता दिइनुपर्छ । राईमाझीले आफूहरूको मागको सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा उत्रने तयारीमा रहेको समेत बताउनुभयो । तर अस्पतालले प्रक्रिया अनुसार नै नतिजा सार्वजनिक गरेको जनाएको छ ।